तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि ११ दिनसम्म भेरोसेलको पहिलो मात्रा लगाइने

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ ।अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने जानकारी दिनुभयो । ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने उहाँले बताउनुभयो ।

यस्तै खोप शाखा प्रमुख सागर दाहालले काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने बताउनुभयो । यस्तै १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

बाँकी ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

त्यसबाहेक यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अन्य जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप दिइरहेका बेला काठमाडौँ जिल्लामा भने असोजदेखि चिनियाँ खोप भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार नागरिक भेरोसेलको दोस्रो मात्रा लगाउन बाँकी रहेकाले काठमाडौँमा भने दोस्रो मात्रा लगाइने छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार सोमबारबाट जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र कागेश्वरी मनहरामा नौ/नौ खोप केन्द्र तोकिएको कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

यसैगरी काठमाडौँ महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button