तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपा सुर्खेत अध्यक्षमा कविराम पुरी

सुर्खेत ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेतको जिल्ला अधिवेशनले युवा नेता कविराम पुरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । 

राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि शुक्रवार वीरेन्द्रनगरमा भएको एकता अधिवेशनले पुरीको अध्यक्षतामा २४ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । 

केन्द्रीय निर्देशन समितिका सदस्य द्वय मुकुन्दश्याम गिरी, कुन्तीकुमारी शाही, केन्द्रीय सदस्य वसन्तकुमार थापा, भद्रबहादुर शाही, सूर्य खत्री, अमृत राना, सन्तोषी शाही, सुनिता शाही, पार्टीका कर्णाली प्रदेश उपाध्यक्ष जनकसिंह ठकुरी, निवर्तमान जिल्ला अध्यक्ष मानबहादुर खड्का, जिल्ला उपाध्यक्ष ईश्वरकुमार श्रेष्ठ, उपाध्यक्ष छत्रपति थापालगायतको उपस्थितिमा सम्पन्न भएको अधिवेशनबाट जिल्ला, नगर तथा गाउँ स्तरीय सबै कार्य समिति सर्वसम्मत निर्वाचित भएका हुन् । 

अधिवेशनले सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नम्बर २, को अध्यक्षमा कर्णबहादुर रेगामी, प्रदेश सभा क्षेत्र नं. २ (क) को अध्यक्षमा श्याम पुरी, (ख) को अध्यक्षमा अम्मरबहादुर थापामगरलाई निर्वाचित गरेको छ । त्यसैगरी सुर्खेत निर्वाचन क्षेत्र नं. १, को अध्यक्षमा मानबहादुर खरेल,  क्षेत्र नं २, प्रदेश सभा (क) को अध्यक्षमा हरि बिसी एवं (ख) को अध्यक्षमा जितबहादुर खड्का निर्वाचित भएको केन्द्रीय निर्देशन समिति सदस्य गिरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा भूपेन्द्रनाथ योगी, पञ्चपुरी नगरपालिकाको अध्यक्षमा शिवराज जैरी, भेरीगंगा नगरपालिकाको अध्यक्षमा गोपाल हमाल, लेखवेशी नगरपालिकाको अध्यक्षमा कृष्ण शाही, गुर्भाकोट नगरपालिकाको अध्यक्षमा लक्ष्मीप्रसाद शर्मा, चौकुने गाउँपालिकाको अध्यक्षमा कमल थापा, चिङगाड गाउँपालिकाको अध्यक्षमा महेन्द्र राना निर्वाचित भएका छन् । 

पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन गरिएको दुई दिने कार्यक्रममा अधिवेशन सफलताको शुभकामना दिने अधिकांशले राप्रपालाई सुर्खेत जिल्लामा एक नम्बर पार्टी बनाउन सबै तह र तप्का जुट्नुपर्नेमा जोड दिनुभएको थियो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button