तपाईँ सुन्दै हुनुहुन्छः

ऋषेश्वर महादेव पञ्चमीमा खुला रहने

काठमाडौँ । काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन खुला गरिने भएको छ ।

सप्तऋषिको पूजा आराधना गर्न आउने भक्तजनको आग्रहअनुसार मन्दिर खुला गर्न लागिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन खुला गरिने उक्त मन्दिर विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९  महामारीका कारण गत वर्ष बन्द गरिएको थियो । दर्शनका लागि स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरेर भीड कम हुने गरी व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिका–१२ का वडाध्यक्ष विकास डङ्गोलले जानकारी दिनुभयो ।

हरितालिका तीजमा व्रत बसेका महिलाले विशेष गरी पञ्चमीका दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने गर्छन् । सप्तऋषिमा कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्र पर्छन् । दर्शनार्थीको सहजताका लागि भीड व्यवस्थापन तथा भक्तजनलाई स्वास्थ्य समस्या परेमा सहयोग गर्न नगरपालिकाका कर्मचारी खटाइनाका साथै एम्बुलेन्स व्यवस्थापन गरिने छ । 

भीड हुन नदिनका लागि कुनै पनि सङ्घसंस्थाको प्रतिनिधिलाई स्वयंसेवक राखिने छैन । मन्दिर तथा त्यस वरपर क्षेत्रमा सफाइ गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button