तपाईँ सुन्दै हुनुहुन्छः

सुनौलो हजार दिनका आमाहरूलाई पोषण झोला वितरण

सप्तरी । कञ्चनरुप नगरपालिका बहु क्षेत्रीय पोषण इकाई कञ्चनपुर सप्तरीले बिहीबार शङ्कर माध्यमिक विद्यालय कञ्चनरुप –१२ रुपनगरमा सुनौलो हजार दिनका आमाहरूलाई पोषण झोला वितरण गरेको छ । 

सो कार्यक्रममा बोल्दै नगरप्रमुख वसन्त कुमार मिश्रले सुनौलो हजार दिनका आमाहरूले विशेष गरी आफ्नो स्वास्थ्य, सरसफाइ र खानपिनमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । 

अब उप्रान्त गर्भवती महिलाहरूलाई निःशुल्क रुपमा एम्बुलेन्सको व्यवस्था गर्ने बताउँदै नगर प्रमुख मिश्रले सुनौलो हजार दिनका महिलाहरूलाई नगरपालिकाले आइरन चक्की निःशुल्क रुपमा उपलब्ध गराउने बताउनुभयो ।

यसअघि सुनौलो हजार दिनका आमाहरूले आइरन चक्की किनेर खानु पर्थ्यो । नेपालमै निःशुल्क रुपमा आइरन चक्की उपलब्ध गराउने पालिकामा कञ्चनरुप नगरपालिका पहिलो रहेको समेत उहाँले बताउनुभयो ।

स्वास्थ्य शाखाका स–संयोजक सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ताले स्तनपान बच्चाको लागि अमृत समान हुने भएकाले ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउन सुझाव दिँदै दूधमा पानी, पोसिलो र भिटामिन सहितको दूध हुने भएकाले बच्चालाई १० मिनेटसम्म दूध खुवाउनु पर्ने बताउनुभयो । 

कृषि विकास शाखाका बेचन सढोक यादव, पशुपन्क्षी विकास शाखाका दिवाकान्त चौधरीले खानेकुराहरू कसरी खाने भन्ने बारेमा जानकारी गराउनु भएको थियो । 

स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादवले वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, र १२ मा सुनौलो हजार दिनका आमाहरूलाई पोषण झोला वितरण गरिएको जानकारी गराउनुभयो ।

घ्यु एक किलो, कुखुराको अण्डा एक क्यारेट, हरियो भटमास एक किलो, पोसिलो पिठो दुई किलो, तरकारी बिउ विजन नौ किसिमको एक प्याकेट, सर्किजल मास्क नोटपिन मेडिकेटेड एक पाकेट, सपकेश प्लास्टिक एक थान, टुथब्रस एक थान, टुथपेष्ट एक थान, मग एकलिटरवाला एक थान, स्यानिटरी प्याड (१.८) ४ प्याकेट, ह्याण्ड स्यानिटाइजर (स्प्रेयर) १०० एमएल एक बोतल, क्याल्सियम चक्की ५०० एमजी दुई सय चक्की पोषण झोलामा हाली सुनौलो हजार दिनका आमाहरूलाई वितरण गरिएको यादवले बताउनुभयो ।

प्रत्येक वडाबाट ३० जना अति विपन्न गरिब, दलित सुनौलो हजार दिनका आमाहरू छनोट गरी ११ वडाका ३ सय ३० जना सुनौलो हजार दिनका आमाहरूलाई पोषण झोला वितरण गरिएको र वडा नम्बर ८ का ३० जनालाई शुक्रवार २२ गते शुक्रवारका दिन पोषण झोला वितरण गरिने यादवले जानकारी गराउनुभयो ।

वडा नम्बर १२ का वडा अध्यक्ष देवीबहादुर खत्री, कार्यपालिकाका सदस्य अनन्तलाल धामी, १२ नम्बर वडाका वडा सदस्य द्वय लक्ष्मी श्रेष्ठ, दिलकुमारी बिक, पोषण कार्यक्रमका सहजकर्ता सुशीला चौधरी लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button