तपाईँ सुन्दै हुनुहुन्छः

बाख्रालाई परजीवीबाट जोगाउन डिपिङ ट्याङ्की प्रयोग

रोल्पा । रोल्पाको रुण्टीगढी गाउँपालिकाका बाख्रा पालक किसान पछिल्लो समय नयाँ प्रविधिको डिपिङ ट्याङ्की प्रयोग गरेर बाख्रा पालन गरिरहेका छन् ।


गाउँपालिकाको वडा नम्बर १ मा २, दाङचोट र राम्ली, वडा नम्बर ३ को चालवाङमा १, वडा नम्बर ४ को मसीनामा १, वडा नम्बर ५ मा ३, सैवाङ, वाइगा, जस्पुर वडा नम्बर ७ को उपल्लो गैरा र कोवाङ गरी ९ वटा डिपिङ ट्याङ्की निर्माण भएका छन् ।


डिपिङ ट्याङ्की भनेको निश्चित मापदण्ड अपनाएर सिमेन्टबाट बनाइएको पोखरी हो । ट्याङ्कीमा कीटनाशक झोल र पानी राखेर मिश्रण गरिसकेपछि बाख्राको आँखा, नाक, मुख सुरक्षित हुने गरी शरीर डुबाएर परजीवीबाट जोगाउन उपचार गरिने प्रविधि भएको हुँदा किसानहरू यस विधितर्फ आकर्षित भएका हुन ।


बाख्रालाई बाह्य परजीवी (जुका, किर्ना, उपियाँ, लुतो ) लाग्नबाट नियन्त्रण गरी निरोगी बनाउन मद्दत गर्नुका साथै किसानलाई अत्यधिक विषादी प्रयोग गर्नबाट जोगाएर थोरै समय र कम लागतमा धेरै बाख्राको उपचार गर्न सकिने भएको हुँदा समुदाय स्तरमा डिपिङ ट्याङ्की निर्माण गरेर प्रयोग गर्न थालिएको हो । 


हरियाली बाख्रा पालन समूह, मिलीजुली, सहयोगी, सैवाङ, चिन्नेथान, जरेपानी, शिवपार्वति, लालीगुराँस र उद्यमशील कृषक समूहले डिपिङ ट्याङ्की बनाएका हुन । १ वटा ट्याङ्की बनाउनको लागी ६० हजार रुपैयाँ खर्च भएको छ ।


अस्ट्रेलियन एडको आर्थिक सहयोगमा आड्रा नेपाल, रूपान्तरण र रुडास नेपाल रोल्पाद्वारा सञ्चालन गरिएको कृषि तथा जीविकोपार्जन प्रवर्द्धन ( गोल टु )  परियोजनाबाट ४० हजार र कृषक समूहले जनश्रमदान २० हजार गरी ६० हजारको लागतमा तयार गरिएको हो । ९ वटा ट्याङ्की सम्पन्न गर्न ५ लाख ४० हजार रुपैयाँको लागत लागेको र किसानहरूबाट थप ट्याङ्की बनाउनको लागी माग भएको पशु प्राविधिक यज्ञबहादुर घर्तीको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button