तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलाको घटनाको सत्यतथ्य छिटो बाहिर ल्याउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले दार्चुलाका घटनामा बेपत्ता भएका जयसिंह धामीको खोजी गर्न र घटनाबारे सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सांसदहरुले दार्चुलाको घटना नेपाल र भारत दुवै देश जोडिएकाले भारतसँग कूटनीतिक रुपमा छलफल गरी समस्यालाई हल गर्न पनि ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले महाकाली नदीमा तुइन तर्ने क्रममा खसेर बेपत्ता जयसिंह धामीको खोजी परिवारलाई तत्काल क्षतिपूर्ति दिन माग समेत गर्नुभयो ।

बैठकमा सांसदहरुले कोरोना विरुद्धको खोप अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले देशभरका बाढी पहिरो पीडितलाई पुनर्स्थापनाका लागि सरकारले छिटो भन्दा छिटो पहल गर्न माग गर्नुभयो ।

सांसदहरुले उखु किसानका समस्या समाधान समयमा नै गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

गणेशसिंह ठगुन्ना, दिलेन्द्र बडु, राम कार्की, रामबाबु कुमार यादव, प्रेम सुवाल, विन्दा पाण्डे, देवेन्द्रलाल कँडेल लगायतका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।  

“मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

प्रतिनिधि सभाको आजको बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७६÷०७७” पेश गर्नु भयो । 

प्रतिनिधि सभाको बैठकले पूर्व सांसद अकबरबहादुर सिंहको मृत्यु प्रति शोक प्रस्ताव पारित गरेको छ । 

२०४८ सालको प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसका नेता अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा मिति यही साउन १५ गते शुक्रवार निधन भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक साउन २६ गते मङ्गलवार दिउँसो १ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button