तपाईँ सुन्दै हुनुहुन्छः

मध्य भोटेकोशीको साधारण शेयर बिक्री म्याद थप

काठमाडौँ । मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन गर्ने म्याद थप गरिएको छ । स्थानीयवासीको आग्रह बमोजिम आवेदन गर्ने समय बढाइएको हो ।

मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार अब आयोजना प्रभावितले यही साउन ३१ गतेसम्म साधारण शेयरमा आवेदन दिन सक्नेछन् । यसअघि यही साउन १७ गतेसम्म साधारण शेयरमा आवेदन गर्ने समय सीमा रहेको थियो । कम्पनीले प्रति शेयर अङ्कित मूल्यका ६० लाख कित्ता साधारण शेयर स्थानीयवासीका लागि बिक्री गरिरहेको छ ।

त्यसमा १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र र ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाबासीका लागि बिक्री हुनेछ । साधारण शेयरमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्म शेयर आवेदन दिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित भोटेकोशी गाँउपालिका १ र ५, बाह्रबिसे नगरपालिका ५, ६ ७ र ८ मा बसोबास गर्ने बासिन्दा र आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्नेले साधारण शेयरमा आवेदन दिन पाउने व्यवस्था छ ।

आयोजना कूल १०२ मेगावाट क्षमताको हो । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रूपमा रहेको मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सो आयोजना निर्माण गरिरहेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button