तपाईँ सुन्दै हुनुहुन्छः

संसद् अधिवेशनलाई प्रभावकारी बनाउनका लागि सभामुख र गृहमन्त्रीबीच छलफल

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच सङ्घीय संसद्को अधिवेशनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच संसद्को चालू अधिवेशनमा विधेयक अघि बढाउने लगायतका सन्दर्भमा छलफल भएको हो । 

सभामुख सापकोटा र मन्त्री खाँणबीच यस वर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र त्यसको व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ । 

सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितको पुनः स्थापनाको कार्य अघि बढाउने जानकारी दिनुभयो ।  

उहाँले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितका नाममा सर्वसाधारणबाट सङ्कलन भई राज्य कोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताउनुभयो । 

यस वर्ष मनसुनको शुरुआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ठूलो क्षति पुगेपछि सरकारले दुवै जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

गत वर्ष पनि बाढी पहिराका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बागलुङलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button