तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चलमा मधुश्रावणी पर्व सुरु

जनकपुरधाम । तराई मधेससहित मिथिला क्षेत्रमा नव विवाहिता कन्याले आज देखि मधुश्रावणी पर्व धूमधामका साथ प्रारम्भ गरेका छन् ।


नवविवाहिता कन्याले १३ दिनसम्म मनाउने यो पर्व साउन महिनाको कृष्णपक्ष पञ्चमी तिथि अर्थात आजबाट सुरु भएर यसै महिनाको शुक्ल पक्ष तृतीयाका दिन विधिपूर्वक कथा सुनेर समापन गर्ने चलन रहेको छ ।


यो पर्व मनाउने नव विवाहिता कन्याले ससुराली पक्षबाट आएका नयाँ रातो, पहेँलो तथा हरियो साडी, चोला, चुरा, पोते सहितका आभूषणहरू लगाएर समूहमा भेला भएर प्रत्येक दिन साँझ परम्परागत मधुश्रावणीको गीत सहित गाउँ सहर नजिकको सार्वजनिक उद्यान, मठ मन्दिरमा पुगेर फूल टिप्ने गरेका छन् । जसलाई स्थानीय भाषामा फूललोढी भनिन्छ ।


साँझ पख टिपेका पुलबाट नै प्रत्येक दिन बिहान घरको आँगनमा सरसफाइ गरेर गाईको गोवरले लिपपोत गरेर अरिपन गरी त्यस माथि बाकसको पत्तामा शिव, पार्वती तथा नाग देवताको विशेष प्रकारले पूजा गर्ने चलन रहेको छ । नव विवाहिता कन्याले यस अवधिमा ससुराली पक्षबाट आएका खाद्यान्न परिकारहरू खाने गर्दछ ।


पहिलो दिन पूजापछि नुनरहित खाना खाने चलन रहेको छ । अरू दिनमा अरवे अरवाईनका परिकार बनाएर खाने चलन रहेको छ । श्रीमान्को सुस्वास्थ्य, दीर्घायु तथा अटल सौभाग्य एवं सुखमय दाम्पत्य जीवनको कामना सहित मधुश्रावणी पर्व मनाइन्छ ।


व्रतीले पर्वको अन्तिम दिन श्रीमान्सगै विशेष प्रकारले कथा तथा पूजा गर्ने चलन रहेको छ । यस दिन ससुराली पक्षबाट आउने कोरोलीहरु, पूजाका सामाग्रीहरू शिव पार्वती तथा नाग देवतालाई अर्पण गरेर विशेष कथा सुनि पर्वको समापन गरिन्छ । साथै ससुराली पक्षबाट आएका कोसेलीहरू छरछिमेक, इष्टमित्र, आफन्तजनहरूलाई आमन्त्रण गरेर खुवाउने तथा कोसेली वितरण गर्ने चलन रहेको छ ।


खास गरेर मिथिलामा बसोबास गर्ने ब्राह्मण, कायस्थ, सोनार, लोहार र कथवनीया सहितका जातका नव विवाहिता कन्याले मधुश्रावणी पर्व मनाउने गरेका छन् । मधुश्रावणी पर्व अवधिभरिमा मिथिलाका गाउँ गाउँ सङ्गीतमय बन्ने गरेका छन् भने नव विवाहिता कन्याले सजिएर हस्सि ठट्टा गर्दै फूल टिप्ने काम गर्ने गरेकाले अझै रौनकता बढ्ने गरेका छन् ।


बढ्दो सहरीकरण तथा आधुनिकतासँगै यसमा केही कमी आए पनि मिथिलाञ्चल क्षेत्रमा यो परम्परालाई सहरी क्षेत्रमा पनि निरन्तरता दिने काम भएको छ । गाउँमा त अझै भव्यताका साथ मनाउने गरिन्छ ।   


नव विवाहिता कन्या तथा श्रीमान्का बिचमा रहेको सम्बन्धलाई मधुश्रावणी पर्वले अझै प्रगाढ बनाउने विश्वास गरिन्छ । यसमा भएका कतिपय गलत परम्परामा सुधार भएर टेमी दाग्ने चलनमा कमी आउन थालेको छ । यसमा श्रीमान्ले श्रीमतीको तिघ्रामा टेमी दाग्ने चलन रहेका थिए तर अहिले यो कम हुन थालेका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button