तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यिक अभियानमा भीमेश्वर नगरपालिका

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले कला, साहित्य, संस्कृतिलाई प्राथमिकतामा राखेको छ । 


नगरको समग्र विकासमा सभ्यताको भूमिकालाई आत्मसाथ गर्दै कला, साहित्य, संस्कृतिलाई प्राथमिकतामा राखिएको नगरप्रमुख भरतबहादुर केसी बताउनुहुन्छ । 


साहित्यिक एवं सांस्कृतिक अभियानलाई अगाडि बढाउन भीमेश्वर नगरपालिकाले संस्कृति नीति एवं संस्कृति ऐन २०७७ कार्यान्वयनमा ल्याएको छ । संस्कृति नीतिको मातहत ऐनको परिधिमा रहेर संस्कृति प्रतिष्ठान गठन गरिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताउनु भयो । संस्कृति प्रतिष्ठान अन्तर्गत भानु विद्यापति साहित्यिक प्रतिष्ठान गठन गरी दोलखा जिल्ला भरी नै साहित्यिक गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिनुभयो ।


स्थानीय सरकारले कम चासो दिएको तर महत्त्वपूर्ण विषय साहित्यलाई भीमेश्वर नगरपालिकाले संस्कृति प्रतिष्ठान बनाएर अगाडि बढाउनु पक्कै पनि सुखद पक्ष हो, साहित्यकार बिष्णु सुवेदीले भन्नु भयो – ‘यसले भीमेश्वर नगरपालिकामा मात्र हैन सिङ्गो दोलखा जिल्ला भरी नै कला, साहित्य तथा संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने छ ।’ आफूले लामो समयदेखि उठाउँदै आएको साहित्यको विकास र संवर्द्धनको विषयलाई भीमेश्वर नगरपालिकाले प्राथमिकताका साथ सुरु गर्नु गौरवको विषय भएको सुवेदीको भनाइ छ । 


भीमेश्वर नगरपालिकाले सुरुवाती चरणमा संस्कृति प्रतिष्ठानको लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । संस्कृति नीति तथा ऐन नै निर्माण गरेर दोलखाको कला, साहित्य र सांस्कृतिक अभियानमा नगरपालिकाले सुरु गरेको अभियान अब नगरको मुख्य योजना नै भएकोले हरेक बर्ष बजेट थप गरिँदै लगिने प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो । 

भीमेश्वर नगरपालिकाले संस्कृति नीति तथा ऐन पारित गर्नु पहिले नै विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति लगायतका विभिन्न सङ्घ संस्थाहरुसंगको सहकार्यमा पुस्तक प्रकाशन, साहित्यिक गोष्ठी, प्रतियोगितात्मक साहित्य लेखन आदी गतिविधि गरिरहेको प्रमुख प्रशासकीय अधिकृत खड्काको भनाई छ । 


भीमेश्वर नगरपालिकाले विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिसँगको सहकार्यमा दोलखा साहित्य यात्रा १ र २, दोलखाली सर्जकहरू लगायतका पुस्तक प्रकाशन गरेको छ भने विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले प्रकाशन गर्ने प्रदेय साहित्यिक पत्रिकाले हरेक बर्ष सहयोग गर्दै आएको छ ।

पुस्तक प्रकाशनको अलवा संस्कृति प्रतिष्ठान अन्तर्गत पुस्तक प्रकाशन, साहित्यिक गोष्ठी, भानु बाटिका निर्माण, पुस्तकालय निर्माण, सालिक निर्माण, लोगो तथा नगर गीत तयारी लगायतका गतिविधि सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 


भीमेश्वर नगरपालिकाले अर्ति पुर्खाको कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । नामकै कारणले लोकप्रिय लाग्ने अर्ति पुर्खाको कार्यक्रम अन्तरगत नगरपालिका भित्रका विद्यालयमा नगरको ज्येष्ठ नागरिकहरूलाई अतिथिको रुपमा पठाउने र आफूले भोगेका दुःख, सुख, अविस्मरणीय क्षण आदी कुरा विद्यार्थीहरूलाई सुनाउने नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button