तपाईँ सुन्दै हुनुहुन्छः

‘ए’ डिभिजन लिग फुटबल रोक्न माग गर्दै ज्ञापनपत्र

काठमाडौँ । आसन्न ‘ए’ डिभिजन लिग फुटबल रोक्न माग गर्दै चार क्लबले ज्ञापनपत्र बुझाएका छन् ।


असोज ३ गतेका लागि तय ‘ए’ डिभिजन लिग रोक्न माग गर्दै चार क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई ज्ञापन पत्र बुझाएका हुन् ।
कोभिडको भयावह स्थितिका कारण लिग आयोजना गर्न कुनै हालतमा उपयुक्त नदेखिएको भन्दै चार क्लबले संक्रमण दरमा अत्यधिक कमी आएपछि मात्र लिग सञ्चालन गर्नुपर्ने बताएका हुन् ।


‘ए’ डिभिजन क्लबहरू जावलाखेल यूथ क्लबका अध्यक्ष गहेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दिपक थापा, ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष लालकुमार पुन र थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकारले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई भेट गरी ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।


गत असार १४ गते एन्फामा भएको ‘ए’ डिभिजन क्लबको बैठकले सहिद स्मारक लिग असोज ३ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । आसन्न लिगका लागि अधिकांश क्लबले खेलाडी अनुबन्धको कामलाई अन्तिम चरणमा पुर्‍याएका छन् । तर चार क्लबले निर्धारित मितिमा लिग खेल्न नसकिने भन्दै एन्फालाई ज्ञापनपत्र बुझाएका हुन् ।


एन्फाले साउन १० गतेभित्र टिम दर्ता गर्न ‘ए’ डिभिजन क्लबलाई अनुरोध गरेको थियो । एक पक्षीय रुपमा टिम दर्तासम्बन्धी पत्र पठाइएको भन्दै चार क्लबले बिरोध जनाएका छन् । उनीहरूले ‘ए’ डिभिजनका क्लबको यथाशीघ्र बैठक बोलाउन माग समेत गरेका छन् ।


टिम दर्ताका लागि एन्फाले गरेको आह्वानमा आफ्नो असहमति रहेको चार क्लबको दाबी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button