तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवस्था सेवा कार्यालय चितवनको एक वर्षको आम्दानी ५७ करोड

चितवन । यातायात व्यवस्था सेवा कार्यालय, चितवनले आर्थिक बर्ष ०७७।०७८ मा करिब ५७ करोड आम्दानी गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा ५६ करोड ९५ लाख ७४ हजार दुई रुपैयाँ सङ्कलन गरेको हो । अघिल्लो आर्थिक बर्ष ०७६।०७७ मा कार्यालयले ४६ करोड ५३ लाख ६९ हजार २०६ रुपैयाँ आम्दानी गरेको थियो । 

निषेधाज्ञाका कारण कार्यालयले ६० करोड राजश्व सङ्कलन गर्ने अपेक्षा गरे पनि सोही अनुसार कर सङ्कलन नभएको बताएको छ । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारीसाधन कर र सवारी दस्तुर शीर्षकबाट कर सङ्कलन गर्दै आएको छ । 

जसअनुसार अघिल्लो आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी सवारी साधन करबाट ४९ करोड ८६ लाख ७४ हजार २९४ रुपैयाँ राजश्व सङ्कलन गरेको छ भने सबैभन्दा कम प्रशासनिक दण्ड जरिवानाबाट ६ लाख ३९ हजार ८६५ रुपैयाँ कर सङ्कलन गरेको छ । 

यस्तै यातायात क्षेत्रको आम्दानीबाट ५ करोड १० लाख ८७ हजार ९६२ रुपैयाँ राजश्व सङ्कलन गरेको छ  भने सवारी दस्तुरबाट १ करोड ९१ लाख ७१ हजार ८८१ रुपैयाँ सङ्कलन गरेको जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले  निषेधाज्ञाका कारण वैशाख १६ देखि असार १६ सम्म दुई महिना कार्यालय बन्द भएकोले कर सङ्कलन अपेक्षित रुपमा नभएको बताउनुभयो ।  ‘दुई महिना त सङ्कलन नै शून्य भयो । कतिपय जिल्लामा गत वर्षबाट नै सेवा कार्यालय पनि स्थापना भए, उहाँले भन्नुभयो, जुन प्रदेशमा सवारीसाधन दर्ता भयो त्यही मात्र कर तिर्नुपर्ने नियम लागु भयो । 

चितवन देशकै केन्द्र विन्दुमा भए पनि नवलपुरको कावासोती, तनहुँको आंँबुखैरहनी लगायतका स्थानहरूमा  सेवा कार्यालय शुरु भएकोले राजश्व सङ्कलन नबढेको पौडेलको भनाई छ  । चालु आर्थिक वर्षबाट सवारीसाधन दर्ताको काम शुरु भएपछि राजश्व सङ्कलनमा वृद्धि हुने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button