तपाईँ सुन्दै हुनुहुन्छः

लुतो फाल्ने पर्व उल्लासमय मनाइँदै

महोत्तरी। झरी रोकिएको छ । एक सातायता त्यसअघिको लगातारको चोटिलो वर्षा थामिएको छ । मौसमको यो अनुकूलतामा महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन आज ‘लुतो फाल्ने’ पर्वको उल्लास छ । जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास रहेको बस्तीमा साउने सङ्क्रान्तिका दिन मनाइने ‘लुतो फाल्ने’ परम्परालाई उल्लासमय बनाउन युवायुवती जुटेका छन् ।

खास गरी पहाडी मूलका नेपाली हिन्दु परम्परामा मनाइने यस पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ । सूर्यास्तपछि साँझपख मनाइने यो परम्पराको तयारीका लागि अहिले एकाबिहानै बस्ती बस्तीबाट युवायुवतीको समूह यी वनस्पतिको खोजीमा वन क्षेत्र पसेका छन् । पहाडी मूलका हिन्दु परम्पराको पर्व भए पनि लुतो फाल्ने वनस्पति लिन जङ्गल जाने समूहमा तराईकै मूल बासिन्दा कोइरी, यादव, लोहार, हजाम, पासवानसहितका जाति समुदाय र फरक धर्म परम्पराका इस्लाम धर्मावलम्बी युवायुवती पनि सरिक देखिएका छन् । एक ठाउँमा बस्दा आपसी सद्भाव अभिवृद्धिमा सांस्कृतिक घुलमिलले सजिलो बनाउने हुँदा आफूहरु लुतो फाल्ने पर्वको तयारीमा लागेको भङ्गाहा–४ का बासिन्दा ३० वर्षीय इस्लाम धर्मावलम्बी युवा शेराजुल राइन बताउनुहुन्छ ।

आफ्ना बस्तीमा नयाँ युवा पुस्तामा हेलमेल र अपनत्व बढेको देख्दा पुराना बाबु पुस्ताका अभिभावक पनि खुसी देखिएका छन् । तराईमा मनाइने छठ, चौरचन र जुडशीतललगायतका पर्व र इस्लाम धर्मावलम्बीका इद, बकरिद र मुहर्रमजस्ता पर्वमा पहाडी मूलका युवाको र पहाडी मूलका तराईका बासिन्दाले मनाउने पर्वहरूमा मधेसी र इस्लाम युवायुवतीको हुने सरिकताले चाडबाड थप रमाइलो हुने र आपसी सहकार्य बढ्ने भङ्गाहा–४ कै सामाजिक, राजनीतिक कार्यकर्ता मुकुन्द दाहालको धारणा छ ।

जिल्लाको उत्तरी भेगका पहाडी र मधेसी मूलका छ्यासमिस बस्तीमा एकअर्काका सांस्कृतिक पर्वहरू अब सबैका साझा बनेका देखिँदा छन् । फरक फरक सांस्कृतिक परम्पराका नयाँ पुस्तामा देखिएको घुलमिल र हिमचिमले पुराना राजनीतिक आग्रह र पहाडी–मधेसी भनेर हेर्ने, सोच्ने दृष्टिकोण हराउँदै, मेटिँदै जाँदा खुसी लाग्ने गरेको बर्दिबास–९ पशुपतिनगरका सामाजिक राजनीतिक कायकर्ता सुरजसिंह कुशवाहाले बताउनुभयो ।

पर्वका अवसरमा आज जिल्लाको सुदूर उत्तरी क्षेत्रको वनक्षेत्रमा विभिन्न ठाउँका युवाको समूह ‘लुतो फाल्ने’ पर्व प्रयोजनका वनस्पति खोज्न व्यस्त देखिएका छन् । साँझमा ‘लुतो फाल्ने’ विधिको परम्परा अति नै रमाइलो लाग्ने हुँदा पर्वते मूलका साथीसँगै मिसिएर आफूm पनि वनस्पति खोज्न वन आएको गौशाला नगरपालिका–१ का युवा चन्देश्वर महतोको भनाइ छ ।

जिल्लाको यो क्षेत्रमा साउने सङ्क्रान्तिका दिन धेरैजसो खिर खाने चलन छ । जिल्लाको उत्तरी क्षेत्रमा सघन बसोबास रहेका मगर जातिले त साउने सङ्क्रान्ति पर्व विशेषरूपमै मनाउने गरेका छन् । मगर जातिमा यस पर्वका दिन विवाह गरिएका छोरी चेलीलाई बोलाएर खुवाउने परम्परा छ । बिहानदेखि साँझसम्म विभिन्न परिकार खाने–खुवाउने गरिएपछि साँझमा भने बस्तीकै युवायुवती भेला भएर हल्लीखल्ली गर्दै ‘लुतो फाल्ने’ पर्व मनाउँछन् ।

पर्व मनाउने नेपाली परम्परा अति नै सहिष्णु र सहकार्यमा आधारित भएको बुद्धिजीवीको धारणा छ । फरक–फरक धर्म, संस्कृति र परम्पराका भए पनि एकअर्काका पर्वमा उत्तिकै रमाएर सरिक हुने नेपाली समाजको सहकार्य संस्कृति नमुना नै रहेको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी बताउनुहुन्छ । पर्व विशेषमा खिर खाने प्रचलनले आज एकाबिहानै दूध डेरीहरूमा उपभोक्ता लाम लागेका देखिन्छन् । ग्रामीण बस्तीमा पशुपालन किसानका घरबाट टोल छिमेककाहरुले दूध लिएर पर्व मनाउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button