तपाईँ सुन्दै हुनुहुन्छः

दुग्धमतिको संरक्षण गर्न २४ करोड विनियोजन

जनकपुरधाम । प्रदेश नंं २ को सरकारले जनकपुरधामको ऐतिहासिक दुग्धमतिको संरक्षण एवं सौन्दर्यीकरणका लागि बजेट नछुट्याएपछि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा २४ करोड रकम विनियोजन गरेको छ । 

डिभिजन सिँचाई कार्यालय धनुषाका हालै सेवा निवृत्त हुनु भएका सिनियर डिभिजनल इन्जिनियर भगवान् झाको प्रयासमा राष्ट्रिय योजना आयोगले तीन वर्षमा गरेर काम सम्पन्न गर्ने गरी सो रकम विनियोजन गरेको छ । 

राष्ट्रिय योजना आयोगका सदस्य डा.उषा झाले ऐतिहासिक एवं धार्मिक महत्त्वको दुग्धमतिको संरक्षण, सरसफाइ तथा सौन्दर्यीकरणका लागि बहुबर्षिय ठेक्का मार्फत काम ३ वर्षमा काम गर्नका लागि वार्षिक ८ करोडको दरले रकम छुट्याएको इन्जिनियर झाले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्ष देखि ऐतिहासिक दुग्धमति नदिको सौन्दर्यीकरण तथा सरसफाइ को कामकाज शुरु हुने पनि उहाँले जानकारी दिनुभयो । रामायणसँग इतिहास जोडिएको ऐतिहासिक एवं धार्मिक महत्त्वको दुग्धमतिको विकासका लागि प्रदेश सरकारले पटक पटक प्रयास गरे पनि बजेट छुट्याउन सकेको छैन । 

कामधेनु गाईको थुनबाट निष्केको दुग्धमतिमा त्रेता युगमा पानीको साटो दूध नै बग्ने गरेको मिथिला महात्मा उल्लेख रहेको छ । माता सीताले सोझै दुग्धमतिवाट दूध सेवन गरेकाले नै नाम दुग्धमति रहन गएको छ । अहिले पनि दुग्धमतिको पानी सफा नै रहेको छ । दुग्धमतिको मुहानमा अतिक्रमण भएका कारणले विगत केही वर्ष देखि नदिमा पानी घटेको छ । 

दुग्धमतिको मुहानमा भएको अतिक्रमण मुक्त गर्नका लागि मुख्यमन्त्री लालबाबु राउतले नै अनुगमन गरेर नाप नक्सा सहित स्थलगत रुपमा अनुगमन गरेर प्रतिवेदन पेश गर्नका लागि गत वर्ष नै नापी तथा मालपोत कार्यालय धनुषालाई निर्देशन दिएको भए पनि हालसम्म केही भएको छैन । 

खास गरेर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रमा रहेको दुग्धमतिको उदगम स्थललाई केही व्यक्तिले अतिक्रमण गरेर माछा पालन गरेका कारणले नदिमा पानीको सतह निक्कै  घटेको छ । यति मात्र नभएर हिउँदको समयमा नदि नै सुक्ने गरेको छ । 

अहिले दुग्धमति किनारमा कैयन ऋषि मुनिले तपस्या गर्ने गरेको कुटी, मठ तथा मन्दिरहरू रहेका छन् । ऐतिहासिक मौनी बाबाको आश्रम दुग्धमतिको किनारमा नै रहेका छन् । २४ औँ घण्टा रामनाम धुन हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button