तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि बैतडीका स्थानीय बजारमा चहलपहल बढ्यो

बैतडी । भारतसँग नाका जोडिएको बैतडी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि स्थानीय बजारहरूमा चहलपहल बढ्दै गएको छ ।

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म पसलहरू खुल्ला भई जिल्ला भित्र सार्वजनिक सवारी साधन सञ्चालन भएपछि बजारहरूमा चहलपहल बढेको हो ।

बैतडीमा हालसम्म कुल २ हजार ५ सय ५४ जनामा कोरोना सङ्क्रमण देखिए पनि २ हजार ४ सय ५२ जना सङ्क्रमणमुक्त भइसकेको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

हाल बैतडी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८४ जना र कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १८ जना रहेको छ ।

सङ्क्रमण बढ्न नदिन सीमा नाका झुलाघाटमा एन्टिजेन परीक्षण गरेर मात्र आवतजावत गर्न दिने र सङ्क्रमण देखिए १० दिन अनिवार्य आइसोलेसनमा राख्ने गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

सङ्क्रमित घट्दै जाँदा जिल्ला अस्पताल बैतडीमा १ जना र कोरोना अस्पताल पुर्चौँडीमा १ जना मात्र अस्पताल भर्ना भएका छन् साथै तत्काल सङ्क्रमण बढिहालेमा उपचारका लागि १ सय ९१ थान अक्सिजन सिलेण्डर र ३७ थान कन्सन्टे्टर मौज्याद रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे बताउनभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button