तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिसँगै व्यवसायमा अब्बल वडाध्यक्ष


जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष डिल्ली रावल सक्रिय राजनीति सँगै व्यवसायीक क्षेत्रमा पनि अब्बल बन्दै गइरहनुभएको छ । स्थानीयतहको निर्वाचनबाट वडाध्यक्षमा विजयी हुनुभएका रावलले राजनीति सँगै व्यवसायलाई अघि बढाइरहनुभएको छ ।

उद्यमशीलता,रोजगारी सृजना र व्यवसायलाई प्राथमिकता दिने सङ्कल्पका साथ वडाध्यक्षमा निर्वाचित भएका रावलले त्यसको सुरुवात स्वयम आफैबाट गर्नुभएको छ ।

युवालाई पनि रोजगारी मिल्ने,आर्थिक आम्दानी पनि हुने उद्देश्यले स्याउ बगैँचा निर्माण, कुखुरा पालन, लगायतका रोजगारी मूलक कार्यमा वडाध्यक्ष रावल सक्रिय हुनुहुन्छ । राजनीतिक हिसाबले निर्वाचन भएको हालसम्म सडक पूर्वाधार, खानेपानी,कृषि पर्यटन लगायतका क्षेत्रको विकास उल्लेखनीय रुपमा भएको छ ।

वडाको सार्वजनिक विकास सँगै आफ्नो निजी लगानीमा कुखुरा पालन,स्याउ बगैँचा निर्माण, हार्डवेयर सञ्चालन गरेर नागरिकलाई सेवा सँगै युवालाई रोजगारी र भविष्यको बलियो सहारा समेत तयार गरेको वडाध्यक्ष रावलले बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले राजनीति सँगै व्यवसाय पनि गरिरहेको छु । युवा रोजगारी सृजना सँगै स्थानीय उत्पादन बढाउन र जिल्लामै नमुना कृषि क्रान्ति गर्न जुटेको छु । यसले राम्रै प्रतिफल दिने आशामा छु ।”

सङ्घीयताको महसुस गराउनका लागि पनि जनतालाई घरघरमा सेवा पुराउनु आवश्यक छ । वडाध्यक्ष रावल भन्नुभयो,“जनताको सेवालाई पनि कहिले रोकिन दिएको छैन । छिटो छरितो जनतालाई सेवा प्रवाह सँगै उद्यमशीलतामा लागेको छु ।”

१ करोडको लगानीमा व्यवसाय सञ्चालन


उमेर ३० पुगेका वडाध्यक्ष रावलले करिब १ करोडको लगानीमा विभिन्न व्यवसाय सञ्चालन गरिरहनुभएको छ । पालिकाकै युवा तथा ऊर्जाशील वडाध्यक्षका रुपमा चिनिने रावलले नाफा कमाउने भन्दा पनि गाउँका बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्यले व्यवसायीतक क्षेत्रमा लगानी गरिरहेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,“अहिले सुरुवाती चरणमै छु । खासै युवालाई रोजगारी दिन सकेको छैन । रोजगारी दिने योजना बनाउदैछु । हाल सबै व्यवसाय नागरिकको सेवा बाहेकको अन्य समयमा आफैले गरिरहेको छु । भविष्यमा आफ्नै निजी व्यवसायमा सयौँ युवालाई रोजगारी दिने दृढ सङ्कल्प छ ।”

रावलले करिब ४० लाख भन्दा बढीको लगानीमा बृहत् स्याउ बगैँचा निर्माण गर्नुभएको छ । जसमा (स्पर अमेरिकन सुपर चिप्स र रेड चिप्स) जातका ९ सय बिरुवा रोपिएका छन् । घेराबार, सिचाई,गडा निर्माण मलजल लगायत गरी करिब ४० लाखको लगानीमा बगैँचा निर्माण गरेको अध्यक्ष रावलले बताउनुभयो । उहाँका अनुसार त्यो बगैँचाले निकट भविष्यमा युवालाई रोजगारी सँगै करोडौँ आर्थिक भित्राउने अपेक्षा छ ।

साथै,भर्खरै परीक्षणका लागि १० लाखको लगानीमा व्यवसायीतक लोकल कुखुरा पालन समेत गरिएको छ । कञ्चनपुर जिल्लाबाट करिब ७ सय ५० वटा चल्ला ल्याएर गरिएको कुखुरा पालन व्यवसाय फस्टाउँदै गएको छ । गाउँमै प्रतिकेजी ८ सय रुपैयाँमा लोकल कुखुरा विक्री हुँदै आएको छ ।
करिब ५० लाख भन्दा बढीको लगानीमा रावलले हाडर्वयर पनि सञ्चालन गर्नुभएको छ । वडाध्यक्ष रावलले हरेक निर्माण सामाग्रीका लागि सदरमुकाम, सुर्खेत नेपालगन्ज धाउनु पर्ने नागरिकका समस्यालाई मध्यनजर गर्दै लिताकोटमै हार्डवयर सञ्चालन गरेको बताउनुभयो ।
नागरिकको सेवा बाहेकको खाली समयमा वडाध्यक्ष रावल कुखुरालाई दाना खुवाउन तथा बगैँचाको व्यवस्थापनमै ब्यस्थ देखिनुहुन्छ । उद्यमशीलता,कृषिकर्म आफूले सुरु गरेपछि अरूलाई प्रेरणा मिलोस् भनेर पनि व्यवसायमा खटिएको वडाध्यक्ष रावलको भनाई छ ।
उहाँले थप्नुभयो,“अरूलाई सिकाउने मात्र नभई आफैबाट सुरु गर्नुपर्छ भन्ने मान्यता छ । आफूले दुःख गर्दा अरूले पनि सिक्छन् ।”
आर्थिक सामाजिक बाधा अड्चनले समाजको समृद्धिमा केही चुनौती आएपनि सामना गर्दै नागरिकको हितका लागि निरन्तर खटिने समेत उहाँको प्रतिबद्धता छ । सङ्घीयताले गाउँको विकासको काँचुली फेरेको छ । अझै आवश्यकता असीमित छन् ।
स्रोत सीमित छ । तथापि पनि अब सडक, खानेपानी, भवन भन्दा रोजगारी सृजना बाहेक अरू विकल्प नरहेको समेत वडाध्यक्ष रावलको भनाई छ ।

स्थानीय सरकारका नीति कार्यक्रम तथा बजेट रोजगार,उद्यमशीलता,व्यवसायीकता मैत्री हुनुपर्नेमा समेत उहाँको जोड छ । कुखुरा पालन, स्याउ,आरु,ओखर मार्सी धान सिमीको उत्पादन वृद्धि गर्ने योजनामा लगानी बढाउनु पर्ने समेत उहाँले उल्लेख गर्नुभयो । अबको विकल्प भनेकै रोजगारी भएकाले आगामी राजनीतिको प्रथामिकतानै रोजगारी सृजना हुने समेत अध्यक्ष रावलको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button