तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालको बहिरङ्ग, शल्यक्रिया लगायतका सबै सेवा आजबाट सुचारु

बीरगंज ।  दुई महिनादेखि कोभिड र निषेधाज्ञाको कारण बन्द रहेको नारायणी अस्पतालको जनरल उपचार सेवा , बहिरङ्ग सेवा र शल्यक्रियालगायत सबै सेवा आजबाट सुचारु भएको छ । 

कोरोना संक्रमणदर उच्च भएपछि पर्सामा वैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको थियो । 

त्यही दिनदेखि नारायणी अस्पतालमा कोभिड सङ्क्रमितको उपचार र आकस्मिक उपचार बाहेक ओपिडीलगायतका अरू सबै सेवा बन्द गरिएको थियो । 

तर अहिले कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड र भौतिक दुरी अपनाएर आजदेखि ओपिडी लगायतका सेवा सुचारु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्र प्रधानले जानकारी दिनुभयो । 

सङ्क्रमणको जोखिम अझै पनि कायम रहेका कारणले आजदेखि ओपिडी सेवातर्फ हरेक विभागमा दैनिक २५÷२५ जना मात्र बिरामीको चेकजाँच र उपचार गरिने उहाँले बताउनुभयो । 

अर्को निर्णय नभएसम्मका लागि ओपिडी सेवा बिहान ९ बजेदेखि बिहान ११ बजेसम्म मात्र सञ्चालन गरिने उहाँले जानकारी दिनुभएको छ । 

अस्पतालका डा.दयनारायण सिंहका अनुसार आजदेखि शल्यक्रिया, मेडिकल, सर्जिकल लगायतका सेवा पनि सुचारु भएको छ । 

नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र मकवानपुरका गरी ६ जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button