तपाईँ सुन्दै हुनुहुन्छः

द्धन्द्धकालमा विस्थापित भएका छोटी भन्सारहरू पुनर्स्थापना गर्न माग

रुपन्देही । द्धन्द्धकालमा विस्थापित भएका रुपन्देहीका छोटी भन्सारहरू पुनर्स्थापना नगरेसम्म सीमा क्षेत्रमा अपराध नियन्त्रण तथा चोरी पैठारी नियन्त्रणमा कमी नआउने भएकोले अविलम्ब छोटी भन्सारहरू पुनर्स्थापना गर्न रोहिणीका सरोकारवालाले माग गरेका छन् ।

रोहिणी गाउँपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोहिणीमा आयोजना गरेको सीमा क्षेत्रमा हुने अपराधजन्य क्रियाकलापको नियन्त्रण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले छोटी भन्सारकै अभावमा पनि सीमा क्षेत्रमा अपराध न्यूनीकरण हुन नसकेको बताएका हुन ।

कार्यक्रममा बोल्दै स्थानीय अगुवा सञ्जय कुमार गुप्ताले भारतबाट अहिले विभिन्न भारतीय नम्बर प्लेटका सवारीहरू आउने र अपराध गरेर भारततर्फ भाग्ने गरेको कारण यसको नियन्त्रणको लागी पनि छोटी भन्सार आवश्यक रहेको तर्क गर्नुभयो ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले भारतीय पक्षले रोहिणी क्षेत्रका अधिकांश गाउँ नै डुबानमा पर्ने गरी सडक बनाएकोमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कूटनीतिक पहल हुन नसकेको बताउनुभयो । भारतले एकतर्फी रूपमा सडक बनाउँदा रोहिणीको वडा नम्बर ५,६ र ७ का अधिकांश गाउँ र खेतीयोग्य जग्गा डुबानमा परेको उहाँले बताउनुभयो ।

सीमा क्षेत्रमा हुने अपराधका कारकमा दशगजासँगै सटेर रहेका मदिरा पसल र विभिन्न गोदामहरू पनि हुने गरेको वक्ताहरूले बताएका छन् ।

स्थानीय प्रशासनले व्यवसाय दर्ता गर्दा पनि सीमा क्षेत्रबाट निश्चित दुरी तोकेर मात्र अनुमति दिनु पर्ने उहाँहरूको भनाई थियो ।

जिल्ला प्रशासन कार्यालयले यस आर्थिक वर्षमा सीमासँग सटेर रहेको ४ वटा स्थानीय तहमा यो कार्यक्रम गर्ने जनाएको छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजय कुमार पौडेलले रोहिणी, सम्मरीमाई, मर्चवारी गाउँपालिका र सिद्धार्थनगर नगर पालिका वा लुम्बिनी सांस्कृतिक नगरपालिका मध्ये कुनै एक स्थानमा यो कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो ।

कार्यक्रमले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच हुने कामहरूमा पनि सहजता ल्याउने विश्वास जनाउनुभयो । उहाँले कार्यक्रममा सीमामा हुने आपराधिक क्रियाकलापको न्यूनीकरण मात्र नभई जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा सुविधाबारे पनि स्थानीयहरूलाई जानकारी दिइरहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झविन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै रुपन्देही जिल्लाको सीमा क्षेत्रमा रहेको सुरक्षा अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजन, सबै वडाका वडा अध्यक्षहरू, रोहिणी गाउँपालिकामा रहेको सुरक्षा निकायका प्रमुख एवम् स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button