तपाईँ सुन्दै हुनुहुन्छः

विपद् व्यवस्थापन गर्न सशस्त्र प्रहरीद्वारा अभियान सुरु

बीरगंज । सशस्त्र प्रहरी बल १३ नम्बर गण चिनी मिल पर्साले वर्षा, बाढी र डुबानको समयमा आइपर्ने विपद्लाई व्यवस्थापन गर्न पीडित उद्धार कार्यको अनुशिक्षण अभ्यास गरेको छ । 


पर्साको तिलावे खोलामा बाढी आउँदा वीरगन्ज १७ अलौ गाउँ डुबानमा पर्दा गाउँलेलाई डुङ्गा र डोरीको सहाराले तालिम प्राप्त सुरक्षाकर्मीले कसरी बचाउन सक्छन् भन्ने अभ्यास कार्यक्रम मार्फत प्रदर्शन गरिएको थियो । 


सशस्त्र प्रहरी बलले चितवनको कुरिन टारमा बाढी डुबान तथा कटानमा फसेकालाई उद्धार गर्न जनशक्ति उत्पादन गर्दै आएको र सशस्त्र प्रहरीको ऐन २०५८ को परिच्छेद २ अनुसार नेपालमा आइपर्ने विपद्को लागि अग्र पङ्क्तिको रुपमा सशस्त्र प्रहरीले नै जिम्मेवारी निर्वाह गर्ने अधिकारको व्यवस्था समेत दिएकोले अन्य निकायभन्दा सशस्त्र प्रहरी विपदमा बढी क्रियाशील हुँदै आएको छ । 


उद्धार अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले विपद्को समयमा सुरक्षाकर्मीसँगै जनप्रतिनिधि पनि थप तयारी अवस्थामा बस्नुपर्ने बेला भएकोले वीरगन्ज महानगरका सबै जनप्रतिनिधिहरूलाई पीडितलाई उद्धारको लागि तयारी अवस्थामा बस्न अनुरोध गर्नुभयो । उहाँले वीरगन्जमा श्रीसिया र भेडहा खोलाको कारण दर्जनौँ गाउँ डुबानमा पर्दा समस्या उत्पन्न हुने गरेको बताउनुभयो । 


नगर प्रमुख सरावगीले करिब २५ करोडको लागतमा भेडहा खोलामा बाध निर्माण गरेकोले तैपनि जोखिम अझै कायम रहेको बताउँदै १५ बर्ष अगाडीको अवस्थामा श्रीसिया खोलाको गहिराई र चौडाइ फर्काउन खोला आसपासको अतिक्रमण हटाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो । 


कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले  सरकारले विपद्को समयमा कम भन्दा कम जन, धनको क्षतिको लागि जिल्ला तथा पालिका स्तरमा विपद् व्यवस्थापन समितिको व्यवस्था गरेकोले सोही अनुसार विपदमा क्रियाशील हुन आग्रह गर्नुभयो । उहाँले विपद्को समयमा कसको के जिम्मेवारी भन्ने सम्बन्धमा सबै कुरा स्पष्ट व्यवस्था रहेकोले अहिले देखि नै तयारी अवस्थामा रहनुपर्ने कुरामा जोड दिनुभयो । 
कार्यक्रममा पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले विपद् बाजा बजाएर नआउने भएकोले अहिले देखि तयारी थालेको र अगामी दिनमा पर्साका विभिन्न युनिटलाई तालिम दिएर अलर्ट राख्ने काममा सशस्त्र प्रहरी गण पर्सा जुटेको बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button