तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षक नभएका बालबालिकालाई आर्थिक सहायता, कोभिडबाट मृत्यु भएका परिवारलाई राहत

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले आमाबाबु दुवै गुमाएका बालबालिकालाई १५ वर्षको उमेरसम्म मासिक पाँच सय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । 

आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले कुनै पनि संरक्षक नरहेका बालबालिकाहरूको स्याहारका लागि टेवा पुर्‍याउने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम अघि सारिएको बताउनुभयो । 

सम्बन्धित वडाको सिफारिस अनुसार गाउँपालिकाले निर्णय गरेर सहायता उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

कपुरकोट गाउँपालिकाको नवौँ गाउँ सभाले कोभिड १९ नियन्त्रण तथा कोभिडबाट सृजित सङ्कट व्यवस्थापनमा जोड दिँदै कोरोना सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने कार्यक्रम पनि पारित गरेको छ । 

कोरोना सङ्क्रमणबाट मृत्यु भएमा राहत स्वरूप २५ हजार रुपैयाँ मृतकको परिवारलाई राहत स्वरूप उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिनुभयो । 

यस्तै डिप्लोमा ३ वर्षे कार्यक्रम प्राविधिक शिक्षालयको नयाँ सम्बन्धन लिन चाहाना गर्ने सामुदायिक विद्यालयहरूलाई गाउँपालिकाले आवश्यक भौतिक सुधारको लागि एकमुष्ट रु ३ लाख अनुदान दिने व्यवस्था गरिने भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button