तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छलीको २३ किलो सुन काण्डमा संलग्न २ भारतीय नागरिक विरुद्ध राजस्व अनुसन्धान विभागद्वारा अदालतमा मुद्दा दर्ता

वीरगंज । राजस्व अनुसन्धान विभागले भन्सार छलीको झन्डै २३ किलो सुन र चाँदीका गहनाको अवैध कारोबारमा संलग्न दुई जना भारतीय नागरिक विरुद्ध भन्सार राजस्व छलीको मुद्दा दायर गरेको छ । 

अवैध रुपमा लुकाई राखेको अवस्थामा पर्सा प्रहरीले २०७७ कार्तिक १ गते वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशकोठीबाट बरामद गरेको २३ किलो सुन तथा १ किलो चाँदीका गहनाको कारोबारमा संलग्न २ जनालाई १८ करोड ६५ लाख बिगो दाबी गर्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा मुद्दा दायर गरेको हो । 

भारतको रक्सौल स्थायी ठेगाना भई वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीम स्थित गणेश अपार्टमेन्टको तेस्रो फ्ल्याट खरिद गरी बस्ने भारतीय नागरिक अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाले २२ हजार नौ सय ५७ ग्राम सुन र एक हजार ७८ ग्राम चाँदीको अवैध कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागले उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजमा मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागका उप महानिर्देशक एवं सूचना अधिकारी शिवलाल तिवारीद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

अदालतमा दायर मुद्दामा अभियुक्तहरूबाट १८ करोड ६५ लाख दुई हजार बिगो असुल गरेर हदैसम्मको कैदको पनि माग गरिएको छ । भन्सार छलेर ल्याएको सुन र गरगहनाको अवैध कारोबार गरेर उनीहरूले राज्यलाई करोडौँ रुपैयाँ नोक्सानी पुर्‍याएको विभागको दाबी छ । 

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा(१)बमोजिम जरिवाना, दफा २३(१)(घ) बमोजिम कैद सजाय र बरामद भएको सुन/चाँदी सोही ऐनको दफा ३३(१) बमोजिम जफत हुन मागवादी गर्दै  अदालतमा मुद्दा दायर गरिएको सूचना अधिकारी तिवारीले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button