तपाईँ सुन्दै हुनुहुन्छः

भर्चुअल माध्यमबाट ङिस्याङ गाउँपालिकाको गाउँसभा

मनाङ। मनाङको ङिस्याङ गाउँपालिकाको नवौँ गाउँसभा बिहीबारदेखि भर्चुअल माध्यमबाट सुरु भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष कान्छा घलेले आगामी २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

उहाँले बाढी पहिरोको जोखिम र कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेकाले आगामी वर्ष यसलाई मुख्य प्राथमिकतामा राखिने बताउनुभयो । “बाढी पहिरोले भौतिक पूर्वाधारहरूमा क्षति पु¥याएको छ, यसको समाधानका लागि बढी प्राथमिकता दिनेछौंँ”, घलेले भन्नुभयो ।

बाढी पहिरोले एक गाउँ वा बस्तीबाट अर्को स्थानमा पुग्न सक्ने अवस्था नरहेकाले भर्चुअल माध्यमबाट गाउँसभा गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिनुभयो । एकै स्थानमा जमघट हुने अवस्था नहुँदा वडा–वडा तथा सहज हुने स्थानबाट नै वडाध्यक्ष तथा वडासदस्यहरु, कार्यपालिका सदस्यहरूबिच भर्चुअल माध्यमबाट नीति तथा कार्यक्रम पारित गरी सार्वजनिक गरिने भएको छ ।

ढकालका अनुसार आगामी वर्ष परिणाममुखी भन्दा पनि विपद्को व्यवस्थापनलाई जोड दिइनेछ । नीति तथा कार्यक्रममा विपद्बाट क्षति भएका भौतिक पूर्वाधार र कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई विशेष महत्त्व दिइनेछ ।

अन्य स्थानीय तहमा भने गाउँसभा नहुने भएको छ । मर्स्याङ्दी नदीमा आएको बाढीले सदरमुकामस्थित चामे गाउँपालिका, नासो गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको गाउँसभा हुने छैन । मर्स्याङ्दीमा आएको बाढीले सबैभन्दा बढी नासो गाउँपालिकामा क्षति पुगेको छ । बाढीले गाउँपालिकाको भवन बगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button