तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा १० प्रतिशत खेतमा धान रोपियो

पर्वत।पर्वतमा कोरोना कहरका बिच अहिले सम्म १० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । किसानहरू कोरोनाका कारण घरभित्रै बस्नुपर्दा जिल्लामा रोपाई धमाधम हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्ष पनि कोरोनाकै कारण रोपाई प्रभावित भएको थियो ।

पछिल्लो हप्ता कोरोना संक्रमित घट्न थालेपछि किसानहरू धान रोपाइमा व्यस्त बन्न थालेका छन् ।समथर र उच्च पहाडी स्थानमा रोपाई सुरु भएको छैन । धेरैजसो स्थानमा मकै थन्काएर धान रोप्ने चलन रहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले मकै नलगाएको खेतमा मात्रै रोपाई भइरहेको बताउनुभयो । उहाँले कोरोनाको कहर कम हुँदै गएपछि किसानहरू खेतबारीको काममा निस्किन थालेको जानकारी दिनुभयो ।

ज्ञान केन्द्रका अनुसार जिल्लाको मोदी, जलजला, पैयुँ र फलेवासका खोला किनारका खेतमा धान रोपिएको छ । आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने स्थानमा पनि यसपालि वर्षा अनुकूल हुने पूर्वानुमान रहेकाले किसानहरू सहजै धान रोपाई गर्न पाइने अपेक्षामा छन् ।पर्वतमा २८ हजार भन्दा बढी खेतीयोग्य जमिन रहेको पर्वतमा करिब ९ हजार २१ हेक्टरमा धान रोप्ने गरिएको छ । पर्वतमा गुडुरा, मार्सी, खुमलटार, पहेँले, जेर्नेली, अनदी, जेठोबुढो, एक्ले लगायतका धानका जात लगाउने गरिन्छ । पछिल्लो समय किसानहरूले उन्नत जातका धान समेत लगाउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button