तपाईँ सुन्दै हुनुहुन्छः

फेरि थुनियो मर्स्याङ्दी नदी

मनाङ।  चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठुलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताउनुभयो । 

थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजिकै रहेको एक विद्यालय पनि जोखिम परेको छ । मङ्गलवार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो । गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठ दाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । नदी थुनिएपछि सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको थियो ।

प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामे बजार थप जोखिममा पारेको छ । 
सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । लगातारको बर्सातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताउनुभयो । त्यही कारण चामे क्षेत्रका स्थानीयवासी लाई सतर्क रहन भनिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button