तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रादेशिक अस्पतालमा चार कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नवलपरासीका तीन जना र अर्घाखाँचीका एक जना पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जनाएका छन् ।
 अस्पतालका अनुसार अर्घाखाँची सन्धिखर्क–६ का ७८ वर्षीय पुरुष, नवलपरासीको सुनवल–६ का ३६ वर्षीय पुरुष, बर्दघाट–४ का ४५ वर्षीय पुरुष र बर्दघाट–१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जनाको फिबर क्लिनिक र बाँकीको आइसियुमा मृत्यु भएको हो । 

रुपन्देहीमा ४ सय ८१ जनाको मृत्यु

रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ८१ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मृतकमध्ये सङ्क्रमणको पहिलो लहरमा एक सय ५७ जना र दोस्रो लहरमा तीन सय २४ जनाले ज्यान गुमाएका छन् । 

जिल्लामा पछिल्लो आँकडाअनुसार २७ हजार ८ सय ९५ जनामा संक्रमण भइसकेको छ । तीमध्ये तीन सय ३० जना सक्रिय संक्रमित रहेका छन् भने बाँकी २७ हजार ८४ जना निको भइसकेका छन् । 

केही दिन यतादेखि जिल्लामा दैनिक ५० जनाभन्दा कम संक्रमित पुष्टि भइरहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । स्थानीय प्रशासनले १६ गतेदेखि नै जिल्लाभर महामारी नियन्त्रण र रोकथाम गर्न निषेधाज्ञा जारी गरेसँगै संक्रमण दर पछिल्लो समयमा घटेको हो । जिल्लामा ८ हजारसम्म पुगेको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले ४ सयको हाराहारीमा रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button