तपाईँ सुन्दै हुनुहुन्छः

बस्ती जोगाउन पक्कीनाला निर्माण

राँझा। कोहलपुर नगरपालिकाले बाढी र कटानको उच्च जोखिममा रहेका एकता नगर बस्ती जोगाउनका लागि पक्कीनाला निर्माण गर्ने भएको छ ।

डुडुवाखोलामा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान भई बस्ती नै डुबानमा पर्ने जोखिम बढेपछि त्यसको दीर्घकालीन समाधानका लागि तत्काल पक्कीनाला निर्माण गर्ने निर्णय गरिएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार, एकता नगर बस्ती बाढी र कटानको उच्च जोखिममा रहेकाले त्यसको समाधानका लागि तत्काल रु.५६ लाख बजेट विनियोजन गरिएको छ । बाढी र कटानका कारण त्यहाँका ६० घर विस्थापित हुने अवस्था आएकाले त्यसको समाधानका लागि पक्कीनाला निर्माणको काम सुरु गरिएको छ ।

डुडुवाखोलाको कटान तथा डुबानबाट बस्ती जोगाउन पक्कीनाला निर्माणका लागि रु.५६ लाखको लागत स्टिमेट तयार गरिएको नगरपालिकाका इन्जिनियर बालकृष्ण महतराले जानकारी दिनुभयो । उहाँका अनुसार स्टिमेटमा २.५ मिटर चौडाई, १.५ मिटर उचाई, ९० साइजका ६ वटा होमपाइप र रिटेनिङ्गवाल समेत रहेको छ । तत्कालका लागि बस्ती जोगाउन एक सय मिटर पक्कीनाला बनाउने र अर्को आर्थिक वर्षमा पनि एक सय मिटर पक्कीनाला बनाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ ।

अबको १५ दिन भित्र नै सक्ने गरी काम गर्ने तयारी भएको छ । काम सम्पन्न गर्न स्थानीयवासी रोशन रावतको अध्यक्षतामा उपभोक्ता समितिसमेत गठन भएको छ । कोहलपुर नगरपालिका—११ का वडाध्यक्ष कर्ण थापाले पक्कीनाला निर्माण भएपछि एकता नगरको कटान तथा डुबानको समस्या समाधान हुने बताउनुभयो । वडाको बजेटबाट नभ्याउने भएकाले नगरपालिकाबाटै यो योजना ल्याइएको उहाँको भनाइ छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button