तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड अस्पतालका लागि भेन्टिलेटर खरिदको पहल गर्दे निजी क्षेत्र

झापा । झापाको दमक नगरपालिकामा सञ्चालित कोभिड अस्पतालका लागि निजी क्षेत्रको पहलमा भेन्टिलेटर खरिदको पहल थालिएको छ । दमक उद्योग वाणिज्य सङ्घ दमकको अगुवाइमा कोभिड–१९ लगायतका गम्भीर प्रकृतिका बिरामीहरूको उपचारका लागि भेण्टिलेटर खरिदको प्रक्रिया अघि बढाइएको संघका अध्यक्ष गोकुल श्रेष्ठले बताउनुभयो । सङ्घले भेण्टिलेटर खरिद सम्बन्धी आज आफ्नै कार्यालयमा सर्वपक्षीय छलफल गरी त्यस्तो जानकारी दिएको हो ।

उहाँका अनुसार संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईँको संयोजकत्वमा भेण्टिलेटर खरिद उपसमिति गठन गरी तत्काललाई ५ वटा भेण्टिलेटर खरिद गर्ने गरी प्रक्रिया सुरु गरिएको हो । संयोजक प्रसाईँले सङ्घले भेण्टिलेटर खरिदका लागि रु १ लाख ५१ हजार रुपैयाँ सुरुवाती रकम जम्मा गरेपछि अन्य व्यवसायी तथा सर्वसाधारणबाट रकम सङ्कलनको काम थालिएको बताउनुभयो । त्यसका लागि हालसम्म समितिमा रु १० लाख ५२ हजार रुपैयाँ जम्मा भइसकेको छ ।

प्रसाईँ संयोजकत्वको समितिले विज्ञहरू सम्मिलित अन्य उपसमिति समेत गठन गरी भेण्टिलेटर खरिदको लागी प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । जसअन्तर्गत औषधि व्यवसायी सङ्घ झापाका अध्यक्ष गौतम गुप्ताको संयोजकत्वमा चिकित्सक र इन्जिनियर सहितको विज्ञ समिति र उद्योग वाणिज्य सङ्घ दमकका कार्य समिति सदस्य भरत चौलागाईं संयोजक रहेको भेण्टिलेटर खरिदका लागी अध्ययन तथा समन्वय उप समिति गठन गरेर खरिदको लागी सुझाव लिइरहेको संयोजक प्रसाईँले बताउनुभयो ।

भेण्टिलेटर खरिद कार्य यही असार भित्रमा भेण्टिलेटर ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको छ । उहाँले कोरोना सङ्क्रमणको जोखिम अझै नहटेको र भोलि आइपर्ने चुनौतीलाई मध्यनजर गरी भेण्टिलेटरको खरिद कार्य अघि बढाइएको बताउनुभयो । 

हाल दमकमा सरकारी र निजी क्षेत्रका अस्पतालहरू गरी जम्मा १४ वटा भेण्टिलेटर रहेको दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button