तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोमा परेकालाई तत्काल उद्धार गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा आज प्रदेशका तीन सुरक्षा निकायका प्रमुख, सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहभागितामा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । मुख्यमन्त्री पोखरेलले तराइमा डुबान र पहाडमा पहिरोका कारण आउने विपदबाट जोगाउन र विपदमा परेकालाई  यथाशक्य छिटो उद्धार गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको थियो । 

विपद्को पूर्व सूचनालाई प्रणालीलाई ध्यान दिई समयमै राहतमा दिने योजना बनाउन आग्रह गर्दै पोखरेलले अवरुद्ध राजमार्ग समयमा खुलाउन, विभिन्न पालिकामा बनेका बहुउद्देश्यीय भवनलाई आश्रय स्थलको रुपमा प्रयोग गर्न, ठुलो वर्षामा पहाडी क्षेत्रमा यातायातका साधन केही समय रोक्ने योजना बनाउन, उद्धार तथा राहतलाई समयमै ध्यान दिन आग्रह गर्नुभएको थियो । 

उहाँले आन्तरिक मन्त्रालयमा तत्काल सूचना उपलब्ध गराउन, स्थानीय तहसँग समन्वय गर्न, जनशक्ति, बजेट तथा अन्य सामग्री परिचालन गर्न विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । विपदमा परेकालाई राहत र उद्धारमा बजेटको अभाव हुन नदिने बताउँदै मुख्यमन्त्री पोखरेलले त्यसमा समस्या परे तत्काल जानकारी दिन आग्रह गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button