तपाईँ सुन्दै हुनुहुन्छः

बुटवल उपमहानगरले आम्दालाई दियो ५० लाख

रुपन्देही । कोभिड–१९ को महामारीका नयाँ र खतरनाक लहरलाई लक्षित गर्दै जनस्वास्थ्यका क्षेत्रमा प्रभावकारी पूर्वतयारी थाल्न बुटवल उपमहानगरले पहल थालेको छ । 

स्वास्थ्य विज्ञहरूले महामारीका नयाँ नयाँ भेरिएन्ट आउन सक्ने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने बताइरहेका बेलामा बुटवलले महामारीको पूर्वतयारलाई प्राथमिकता दिएको हो । 

महामारीमा बालबालिका र सुत्केरीका लागि लक्षित गरेर उपचारका सबै प्रबन्ध मिलाउन तथा पूर्वतयारलाई प्रभावकारी बनाउन सबै पक्षसँग समन्वय एवम् सहकार्य भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । 

बुटवल उपमहानगरपालिका मातहत रहेको सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसूतिको विशिष्टीकृत सिटी अस्पतालकै रुपमा रूपान्तरण गर्ने गरी पहल भइरहेको र तत्कालका लागि कोभिड विशेष सेवा थप गर्न लागिएको प्रमुख सुवेदीको भनाई छ । 

बालबालिका र प्रसूतिका बेड थप गर्ने, उपकरण बढाउने र जनशक्तिको समेत आवश्यक प्रबन्ध मिलाउने विषयलाई पूर्वतयारीको प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । हाल अस्पतालमा कोभिड विशेषका मात्रै पाँच वटा आइसीयूसहितका बेड सञ्चालनमा छन् । 

सेवालाई विस्तार गर्दै कोभिड प्रभावित बालबालिका र सुत्केरीलाई लक्षित आधुनिक उपकरण जडित सुविधा सम्पन्न उपचार केन्द्र बनाउन लागिएको अस्पतालका मेसु डा.राजेन्द्रप्रसाद बस्यालले बताउनुभयो । अहिले भइरहेको सेवालाई जनशक्ति र आवश्यक उपकरणसहित थप विस्तार र व्यवस्थित बनाउन सुरु गरिएको बताउनुभयो । 

उहाँले उपमहानगरबाट ५० लाख बरबरको स्रोत सुनिश्चित गर्ने गरी ३० लाख प्राप्त भइसकेको र अस्पतालमा निर्माणका काम पनि अगाडि बढिरहेको जानकारी दिनुभयो । अस्पतालमा विशेष कक्ष निर्माण गरेर आवश्यक बेड र उपकरण थप गर्न लागिएको छ । 

विसं. २०५५ साल कात्तिकमा स्थापना भएको उक्त अस्पतालमा हाल एक सय ५० बेड रहेका छन् । विभिन्न विषयका एक सय ८१ जना जनशक्तिले अस्पतालमा सेवा दिइरहेका छन् । यसलाई विस्तार गर्दै बाल र प्रसूतिको विशिष्टीकृत सिटी अस्पतालका रुपमा विकास गर्ने भन्दै उपमहानगरले नीति तथा कार्यक्रमसमेत बनाएको छ । 

केन्द्र र प्रदेश सरकारको सहयोग तथा निजी क्षेत्रको सहकार्यमा उक्त अस्पताललाई बाल तथा प्रसूतिको विशिष्ट अस्पताल बनाउन लागिएको हो । महामारीका गएका लहरबाट पाठ सिक्दै आउने लहरको सामनाका लागि उपकरणको प्रबन्ध मिलाउन, जनशक्तिको व्यवस्थापन गर्न र समन्वयका कामलाई यथाशीघ्र सञ्चालन गर्न बाल रोग विशेषज्ञहरूले उपमहानगरलाई सुझाव दिएका थिए ।

उपमहानगरले हालै यस क्षेत्रका बाल रोग विशेषज्ञहरू, सरुवा रोगका विषयका जानकार, स्वास्थ्य संस्था सञ्चालन तथा विभिन्न विषयका विज्ञहरूसँग विशेष छलफल गरेको थियो । कोभिड–१९ को महामारीको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै विज्ञहरूसँग परामर्श गरिएको र सोही आधारमा आम्दा अस्पताललाई प्राथमिकतामा राखिएको हो । 

विज्ञहरूले जनशक्ति थप गर्न, उपकरणको प्रबन्ध मिलाउन र आपतकालिन अवस्थामा समन्वय गर्ने विशेष संयन्त्र निर्माण गर्न सुझाव दिइएको बाल रोग विशेषज्ञ डाक्टर राजु काफ्लेले जानकारी दिनुभयो । उहाँले बाल र मातृ सुरक्षाका विषयमा बुटवलले देखाएको तदारुकता उदाहरणीय रहेको बताउनुभयो । 

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताललाई नै केन्द्रमा राखेर बालबालिकाको उपचार हुने सबै अस्पतालमा समन्वय गरिने भएको छ । यसका लागि आवश्यक संयन्त्र बनाउने र त्यसका लागि आवश्यक उपकरण तथा जनशक्ति तीनै तहका सरकार र निजी क्षेत्रसमेतको सहकार्यमा व्यवस्थापन गर्ने सर्वपक्षीय छलफलको निर्णय भएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताउनुभयो । 

उपमहानगरमा हालै अस्पताललाई चेक प्रदान गरिएको थियो । त्यस अवसरमा उपमहानगरका प्रमुख सुवेदीले अस्पतालका मेसु डा.बस्याललाई उक्त रकम बराबरको चेक प्रदान गर्दै थप स्रोत जुटाउन पहल भइरहेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button