तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा वेलफेयरद्वारा विभिन्न अस्पताललाई ८ करोड ८९ लाख बढीका स्वास्थ्य सामाग्री सहयोग

रुपन्देही । गोरखा वेलफेयर ट्रष्ट नेपालले कोरोना नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपालका विभिन्न अस्पताललाई ८ करोड ८९ लाख ६२ हजार ६४० रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र पिपिई सेट रहेको ट्रष्टले जनाएको छ ।

ट्रष्टको सहयोग अन्तर्गत प्राप्त भएको १ करोड ८३ लाख २४ हजार बराबरका स्वास्थ्य सामाग्री पश्चिम नेपालका १३ वटा अस्पताललाई प्रदान गरिएको एरिया वेलफेयर सेन्टर बुटवलले जनाएको छ । एरिया वेलफेयर सेन्टर बुटवलले ट्रष्टबाट प्राप्त ५० लाख ८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीलाई सोमबार मात्रै हस्तान्तरण गरेको छ ।

कोरोना नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सोमवार जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन केदारनाथ शाहलाई ती स्वास्थ्य सामाग्री प्रदान गरिएको एरिया वेलफेयर सेन्टर बुटवलका प्रमुख यमबहादुर रानाले जानकारी दिनुभयो । स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र पिपिई सेट रहेका छन् ।

गोरखा वेलफेयर ट्रष्टले देशका विभिन्न स्थानमा खानेपानी आयोजना, बिद्युत्, स्कुल भवन, मोटरबाटो, झोलुङ्गे पुल बनाउनुका साथै र विपद्का बेला विभिन्न सहयोग प्रदान गर्दै आएको छ । यसै गरी रुपन्देहीको रोटरी क्लब अफ सैनामैनाले सैनामैना नगरपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

रोटरी सैनामैनाको आर्थिक सहयोग एवम् रोटरी क्लब अफ पोखराको समन्वयमा एक कार्यक्रमको आयोजना गर्दै क्लबले नगरपालिकालाई ५ थान अक्सिजन सिलिण्डर र २ थान अक्सिजन उत्पादन गर्ने उपकरण हस्तान्तरण गरेको हो ।

कोभिड –१९ को संक्रमण बढ्दै जाँदा नगरमा उपचारका लागि अत्यावश्यक अक्सिजन ग्याँस तथा सिलिण्डर अभाव भइरहेकोले उपचारमा थप सहजता पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर प्रदान गरिएको क्लबले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले विपद्को समयमा सहयोगका लागि क्लबलाई धन्यवाद दिनुभयो । उहाँले अहिलेको सङ्कटको अवस्थामा स्थानीय तहलाई सहयोग गरेकोमा क्लबप्रति आभार व्यक्त गर्नुभयो ।

क्लबका अध्यक्ष दुर्गा गौतमले सङ्कटमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै सामाजिक सङ्घ संस्थाहरूको तर्फबाट स्थानीय सरकारलाई सधैँ साथ र सहयोग रहने बताउनुभयो । उहाँले आगामी दिनमा समेत क्लबले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button