तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमणको लक्षण भएका सबैलाई परीक्षण गराउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणको लक्षण भएका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क गरी परीक्षण गराउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको मिडिया व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले परीक्षण भएको नमूनामा संक्रमण पुष्टि हुने दर उच्च रहे पनि परीक्षण गराउन जानेको सङ्ख्या कम हुँदा पर्याप्त परीक्षण हुन नसकेको बताउनुभयो ।
मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार परीक्षण भएका नमूनामा संक्रमण पुष्टि हुने दर २२ दशमलव ५ प्रतिशत रहेको छ ।
प्रदेशगत आधारमा सबैभन्दा बढी कर्णाली प्रदेशमा ४२ दशमलव ९ प्रतिशत, गण्डकी प्रदेशमा २८ दशमलव ३ प्रतिशत तथा वाग्मती प्रदेशमा २४ दशमलव ४ प्रतिशत संक्रमण दर रहेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
यसैबीच कोरोना भाइरसबाट आज थप २ हजार ४ सय ७ जना संक्रमित भएका छन् ।
आज पिसिआर परीक्षणबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन परीक्षणबाट ७ सय १३ जना गरी जम्मा २ हजार ४ सय ७ जनामा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा पौडेलले दिनुभएको जानकारी अनुसार आज ७ हजार ५ सय १७ नमूनाको पिसिआर तथा ४ हजार ८ सय ८९ नमूनाको एन्टिजेन परीक्षण भएको छ ।
यस्तै कोरोना सङ्क्रमणका कारण थप ४६ जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या ८ हजार ४ सय १२ पुगेको छ ।
यस्तै आज थप ३ हजार ९ सय ९४ जना सङ्क्रमणमुक्त भएका छन् भने निको हुने दर ८७ दशमलव ३ प्रतिशत रहेको छ ।
आज देशभर गरी ६८ हजार ९ सय ५५ जना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमित मध्ये ६४ हजार ७ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी ५ हजार २ सय ११ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button