तपाईँ सुन्दै हुनुहुन्छः

ईन्द्रसरोवर गाउँपालिकाः स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रमा व्यापक परिवर्तन 

मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले विगत ४ वर्षमा गाउँपालिकामा स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रमा भएको परिवर्तनबाट सन्तुष्ट भएको जनाएको छ ।
जिल्ला समन्वय समितिद्वारा शुक्रवार गाउँपालिकाको अनुगमनका क्रममा विगत ४ वर्षमा गाउँपालिकामा व्यापक परिवर्तन भएता पनि स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि र पर्यटन क्षेत्रमा भएको परिवर्तनबाट सन्तुष्टि मिलेको जनाएको छ ।
शुक्रवार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा लामा, र प्रमुख प्रशासकीय अधिकृत किरण निधी तिवारीले जनताको माग बमोजिम पूर्वाधारसँगै सामाजिक क्षेत्रमा समेत उतिकै ध्यान दिएर काम गरेको बताउनुभयो ।
सबै वडामा स्वास्थ्य कार्यालय निर्माण गरी स्वास्थ्यको पहुँचमा पुर्‍याएको, स्वयंसेवीलाई भत्ता, जिरो होम डेलिभरी, निःशुल्क एम्बुलेन्स सेवा लगायतका कार्यक्रमबाट नागरिकलाई स्वास्थ्यमा पहुँच वृद्धि गरिएको जानकारी दिइएको थियो ।
त्यस्तै शिक्षा क्षेत्रमा शून्य दरबन्दी भएका सामुदायिक विद्यालयमा १० जना स्वयंसेवक शिक्षकको व्यवस्था, आफ्नै लगानीमा कृषि प्राविधिक विद्यालय सञ्चालन, विद्यार्थीलाई खाजाको व्यवस्था तथा विभिन्न शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो ।
यस्तै जनताको माग बमोजिम करिब ९९ प्रतिशत घरमा सडक पूर्वाधार पुर्‍याउन सफल भएकामा सन्तुष्टि मिलेको बताइएको थियो । यस्तै भूकम्प पछि खानेपानीको क्षेत्रमा आएको समस्या समाधान गर्न सफल भएको बताइएको थियो । दिनभरि पानी बोक्नुपर्ने जनताको समस्या समाधान गर्न सफल भएकोमा सन्तुष्ट भएको उहाँहरूले बताउनुभयो ।
त्यस्तै पर्यटन क्षेत्रमा लगानी गरेर आय आर्जनमा व्यापक वृद्धि भएकोमा बताइएको थियो । जनतामा गाउँमै बसेर जीवन निर्वाह गर्न सकिन्छ भन्ने सोचको विकास गर्न सफल भएकोमा सन्तुष्टि मिलेको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो ।
अनुगमनका क्रममा जिसस प्रमुख खुलालले सबै विकास एकै पटक सम्भव नहुने बताउनुभयो । उहाँले गाउँपालिकाहरूमा अहिले भएका विकासहरूलाई कम आङ्कलन गर्न नहुने बताउनुभयो ।
अनुगमन टोलीले सङ्घीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समितिको मौज्दात कोष र स्थानीय तहको लगानीमा सञ्चालित विभिन्न आयोजना तथा आइसोलेसन केन्द्रको स्थलगत अनुगमन गरेको थियो ।
अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, शाखा अधिकृत भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, लेखापाल अर्जुन दाहाललगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button