तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न सक्नु भएन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल हुनुभएको छ ।
प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन सकेन । प्रदेशसभाको सबैभन्दा ठुलो दलका नेताको हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त हुनुभएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत माग्नुभएको थियो । प्रदेशसभामा आज विश्वासको मत लिन असफल भएपछि संविधानतः गुरुङ पदमुक्त हुनुभएको छ ।
प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् भने जनमोर्चाका कृष्ण थापा तटस्थ बस्नुभयो । त्यस्तै युवा तथा खेलकुद मन्त्री  दिपक मनाङे भनिने राजीव गुरुङको अनुपस्थिति रह्यो ।
६० सदस्यीय प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन ३१ मत आवश्यक पर्ने थियो ।
१६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन असफल भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ ।
अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नु हुनेछ । धारा १६८(५) मुख्यमन्त्री नियुक्त हुन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भङ्ग भई गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन घोषणा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button