तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज उपमहानगरपालिकाले खोप खरिद गरी नगरवासीलाई प्रदान गर्ने

बाँके । नेपालगन्ज उप–महानगरपालिकाले सम्पूर्ण नगरवासीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । नगरप्रमुख डाक्टर धवलशम्शेर राणाको अध्यक्षतामा बुधवार बसेको नगर कार्यपालिका बैठकले सरकारले अनुमति दिएमा नगरवासीका लागि आवश्यक खोप खरिद गर्ने निर्णय गरेको छ ।
बैठकले हिमानी कोषले नेपालगन्जका लागि आवश्यक जोनसन एण्ड जोनसन कम्पनीको खोप निःशुल्क उपलब्ध गराउन प्रस्ताव गरे अनुसार सो प्रस्ताव स्वीकृति गर्ने निर्णय गरेको छ । हिमानी कोषले नेपालगन्जका लागि आवश्यक खोप उपलब्ध गराउन सक्ने प्रस्ताव नेपालगन्ज उपमहानगरपालिकालाई गरेको छ ।
नगर उपप्रमुख उमा थापामगरका अनुसार छिटो भन्दा छिटो सम्पूर्ण नगरवासीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन उप–महानगरपालिकाले पहल गर्न थालेको हो । कोभिड विरुद्धको खोप अन्य सङ्घ संस्थाले पनि उपलब्ध गराउन चाहेमा स्वीकृति दिने समेत बैठकले निर्णय गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार बैठकले सरकारलाई छिटो भन्दा छिटो कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button