तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित पत्रकारले उपचार खर्च बापत २५ हजार पाउने 

ओखलढुङ्गा । नेपाल पत्रकार महासङ्घ ओखलढुङ्गाले कोरोना संक्रमित पत्रकारको उपचारका लागि २५ हजार सहयोग गर्ने भएको छ । पत्रकारका लागि कार्यालयमा ५ शय्याको आइसोलेसन तयार पारेको महासङ्घ जिल्ला शाखाले थप उपचार खर्च २५ हजार र संक्रमित पत्रकारको मृत्यु भएमा परिवारलाई २५ हजार रकम सहयोग गर्ने घोषणा गरेको हो ।
महासङ्घका सचिव पूर्णप्रसाद न्यौपानेले बुधवार जारी गरेको विज्ञप्तिमा कोरोना जस्ता महामारी जन्य रोग लागेका पत्रकारलाई आइसियु वा भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने भएमा महासङ्घका तर्फबाट रु. २५ हजार र कोरोना सङ्क्रमणका कारण वा सवारी दुर्घटना भई मृत्यु भएमा निजका परिवारलाई २५ हजार सहयोग गर्ने उल्लेख छ ।
दुर्घटना वा कुनै कारण पत्रकारहरू दीर्घ रुपमा अपाङ्ग भएमा रु. १५ हजार, बाढी, पहिरो, आगलागी, जस्ता प्राकृतिक प्रकोपबाट पत्रकारको निजी घरमा क्षति पुगेमा वा परिवारका सदस्य घाइते भएमा रु. १० हजार र कुनै कारण पत्रकारको सञ्चार सामाग्री क्षति भएमा वा आर्थिक अवस्थामा गम्भीर असर पुगी सञ्चार सामग्री जुटाउन नसक्ने अवस्था आएमा सञ्चार सामग्री खरिदको लागि २५ हजार रुपैंयासम्म सहयोग गरिने महासङ्घका सचिव न्यौपानेले बताउनुभयो ।
पत्रकारको स्वास्थ्योपचार एवम् भैपरि आउने, आपतकालिन अवस्थामा सहयोग गर्न १० लाख बराबरको पत्रकार सहायता कोष स्थापना गरेर पत्रकारको हितमा विभिन्न सहायताका कार्यक्रम अघि सारिएको उहाँको भनाई छ । ‘हामीले पत्रकार सहायता कोष स्थापना गरेर महासङ्घका पदाधिकारीहरूबाटै केही रकम जम्मा गरेका छौँ । अन्य दाताहरूले पनि सहयोग गर्ने क्रम जारी छ । त्यही कोषबाट पत्रकारको स्वास्थ्य उपचार एवम् पेशागत सुरक्षाका कार्यक्रमहरू ल्याएका हौँ ।’ उहाँले भन्नुभयो, ‘पत्रकार महासङ्घ पत्रकारको हकहित र वृद्धि विकास तथा श्रमजीवी पत्रकारको पेशागत एवम् व्यक्तिगत सुरक्षामा समेत सहयोग गर्ने अभिभावक संस्था हो । त्यसैले जिल्लाका पत्रकारको अभिभावकत्व लिन महासङ्घ अग्रसर छ ।’
सहायता प्राप्त गर्न नेपाल पत्रकार महासङ्घ ओखलढुङ्गा शाखाको सिफारिसमा सदस्यता प्राप्त गरी हालसम्म क्रियाशील पत्रकारहरू हुनुपर्ने वा नेपाली सञ्चारमाध्यमको आधिकारिक प्रतिनिधिको हैसियतमा ओखलढुङ्गा जिल्लामा रहेर पत्रकारितामा क्रियाशील व्यक्ति हुनुपर्ने व्यवस्था लागु गरिएको छ ।
गम्भीर दुर्घटनामा परी उपचार गराइरहेका वा दीर्घ रोगको उपचार गराइरहेका देशका अन्य जिल्लाका पत्रकारहरूको उपचारार्थ महासङ्घको प्रदेश वा केन्द्रीय समितिले आव्हान गरेमा शाखाको निर्णय बमोजिम सहायता रकम उपलब्ध गराइने जनाइएको छ ।
२०७८ जेठ ७ गते स्थापना गरिएको पत्रकार सहायता कोषमा हाल सम्म ४ लाख ६ हजार ७२ रुपैंया रकम जम्मा भएको छ । कोष सञ्चालन कार्यविधि बनाएर महासङ्घबाट पारित गरिएको शाखाका अध्यक्ष लाक्पा जी शेर्पाको भनाई छ । अध्यक्ष शेर्पाले पत्रकारको साझा संस्थाले थालेको विशेष अभियानमा साथ दिन सबैमा अपिल गर्नुभएको छ ।
बढ्दो कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पत्रकार महासङ्घ ओखलढुङ्गा शाखाले आफ्नै  भवनमा ५ शय्याको आइसोलेसन कक्ष तयार गरिसकेको छ । जिल्लामा क्रियाशील पत्रकारहरू संक्रमित भए उक्त आइसोलेसनमा बस्न सक्नेछन् ।
कोरोना सङ्क्रमणले पत्रकार तथा आमसञ्चार क्षेत्रमा गम्भीर असर पारेको अवस्थामा ओखलढुङ्गा शाखाले चालेको कदम महत्त्वपूर्ण मानिएको महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दालीले बताउनुभयो । जिल्ला स्तरमा श्रमजीवी पत्रकारका समस्या समाधानमा ओखलढुङ्गा शाखाले सुरु गरेको रचनात्मक अभियानले देशभरका महासङ्घलाई राम्रो सन्देश दिएको उहाँको भनाई छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणले पत्रकार तथा आमसञ्चार क्षेत्रमा पारेको प्रभाव, श्रमजीवी पत्रकारका समस्या र कोभिड सङ्क्रमणले जिल्लाका आम नागरिकमा पारेको असरका विषयमा पत्रकार महासङ्घ ओखलढुङ्गा शाखाले नागरिक समाजको अगुवा संस्थाको रुपमा काम गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button