तपाईँ सुन्दै हुनुहुन्छः

काेराेनाविरूद्धकाे खाेपमा खेलाडीलाई विशेष प्राथमिकता

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइने बताउनुभएको छ ।

बुधबार नेपाल खेलकुद महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने बताउँदै आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताउनुभएको हो ।

मन्त्री तामाङले सरकार कोभिड १९ सँगसँगै अन्य रोगको उपचार पनि जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खोपलाई प्राथमिकताका साथ अगाडी बढाएका छौँ । आएको खोपको सिमितताका कारणले उमेर समूहलाई छुट्याएर गरिरहेका छौँ । सम्भवत्ः केही दिनभित्रै कोभिडको भ्याक्सिन सम्बन्धी सकारात्मक समाचार तपाइहरुले पाउनुहुनेछ ।’

‘पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौँ तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन’, मन्त्री तामाङले भन्नुभयाे, ‘अब यस्ता विभिन्न क्षेत्र लगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ उहाँहरुलाई पनि लक्षित गरी भ्याक्सिनको परिणाम बढी ल्याउन सक्यौँ भने त्यो पनि ध्यान दिन्छौँ । कोभिड सँगै अन्य उपचार कसरी जनतालाई सहज बनाउन सकिन्छ, जनता उपचार अभावमा मर्नु नपरोस् भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेर अगाडी बढेका छौँ ।’

मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासंघले खेलाडी लगायत खेल क्षेत्रका लागि काठमाडौं उपत्यकामा ५ हजार मात्रा र प्रदेश र जिल्लामा आवश्यकता अनुसार कोभिड – १९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ । त्यसैगरी आगामी दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्नेगरी व्यवस्था गर्न, पीसीआर परीक्षणलाई सहज र फराकिलो बनाउन, खेलकुद क्षेत्रलाई प्राथमिकता दिइ राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासंघले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button