तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कहरका बीच कृषिमार्फत स्वरोजगार बनाउने प्रयास

गण्डकी। कोरोना महामारीसँगै अधिकांशको रोजगारी गुमेको अवस्थालाई लक्षित गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमार्फत सर्वसाधारणलाई स्वरोजगार बनाउने गरी विभिन्न कार्यक्रम अघि बढाएको छ ।

आयमूलक नगदेबालीलाई जोड दिएको गाउँपालिकाले अघिल्लो वर्ष सुन्तला, कागती, एबोकार्डो, जापानिज कटुस, अम्बा आदिका दुई लाख ६५ हजार विरुवा वितरण गरेको थियो । यस वर्ष सर्वसाधारणलाई ३५ हजार कुरिलोको बिरुवाका साथै १६ हजार डाले घाँसको विरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।

कृषिका सम्भाव्यताको पहिचानका लागि गाउँपालिका क्षेत्रमा अघिल्ला वर्षमा माटो परीक्षणसमेत गराइसकेको जानकारी दिँदै उहाँले कृषिमार्फत स्वरोजगार अभिवृद्धि गराउने दीर्घकालीन लक्ष्य राखिएको बताउनुभयो ।

सम्भाव्यताकै अध्ययनका क्रममा गाउँपालिकाको वडा नं ३ पत्थरमा कृषि विज्ञहरू डा अनिल सुवेदी र डा कुलराज चालिसेले पत्थरमाथि खेतीको अनुसन्धान गरिरहनुभएको जानकारी दिँदै उहाँले अनुसन्धान सफल भएमा सर्वसाधारणलाई यसतर्फ अभिप्रेरित गरिने बताउनुभयो । पत्थरमाथि बोरामा माटो राखेर तरुल, गिठठ आदि कन्दमुलजन्य वस्तुहरूको खेतीबारे सम्भाव्यता अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले पुरानो बाली संरक्षण अभियानअन्तर्गत वडा नं ४ सल्यानमा कोदो, मकै, धानको रैथाने प्रजातिको संरक्षण कार्यलाई पनि अघि बढाएको कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button