तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजका विद्यालयहरू असार १ गतेबाट सञ्चालनमा आउने

बीरगंज । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा आएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्र भित्रका निजी तथा सामुदायिक विद्यालयहरू असार १ गतेदेखि क्रमिक रुपमा खुल्ने भएका छन् ।
संक्रमण बढ्दै गएपछि विगत दुई महिनादेखि बन्द भएका बीरगंजका निजी तथा सामुदायिक विद्यालयहरू असार १ गतेदेखि कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्ने निर्णय भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले जानकारी दिनुभयो ।
विद्यार्थीहरूको शैक्षिक भविष्य अन्यौलता परेकोले क्रमिक रुपमा विद्यालय खोल्ने रणनीति अनुसार असार १ गतेदेखि ८ कक्षादेखि माथिका कक्षाहरू सञ्चालन गर्ने निर्णय भएको निरौलाले बताउनुभयो ।
विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गर्न विद्यार्थीका अभिभावकहरूबाट लिखित सहमति लिने, स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य पालना गर्नुपर्ने लगायतका मापदण्ड पुरा गरी महानगर क्षेत्रका विद्यालयहरू सञ्चालन गर्न लागिएको वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसै गरी वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरूमा असार १ गतेदेखि ७ गतेसम्म विद्यार्थी भर्ना लगायतका व्यवस्थापकीय काम गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई महानगरपालिकाले निर्देशन दिएको छ भने असार ८ देखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो ।
असार १५ गतेपछि भने नियमित रुपमा सबै विद्यालय खोल्ने तयारी भएको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button