तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन शुरु

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट (आठौँ) अधिवेशन आज देखी शुरु भएको छ । बैठकमा प्रदेश सभा सदस्यहरूले बजेट अधिवेशनको सफलताको शुभकामना दिनुहुँदै कोरोना रोकथाम तथा नियन्त्रण, चालु आवको बजेट खर्चको अवस्था लगायत विषयमा धारणा राख्नुभएको थियो ।
बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल, नेकपा (एमाले) का अमर साउद, नेकपा (माओवादी केन्द्र) का सचेतक अक्कल रावल, राजपाका कृष्णबहादुर चौधरीले भाग लिनुभएको थियो ।
त्यसअघि  बैठकले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख स्वर्गीय मोहनराज मल्लको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । बैठकमा सभामुख अर्जुनबहादुर थापाले उहाँको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । प्रदेश सभाको अर्को बैठक  जेठ २३ गते आइतबार दिउसो ३ बजे बस्ने गरी स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसैबिच नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदेश सभा सदस्य पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा माग गर्नुभएको छ । प्रदेश सभाको बजेट अधिवेशनको प्रारम्भै उहाँले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले सरकार अल्पमतमा परेको बताउनुभयो । अव एमाले प्रतिपक्षमा बस्छ, आफूहरूलाई अलग्गै सिटको व्यवस्था गर्न आग्रह गर्दछु उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button