तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जेठ ३१ गतेसम्म पूर्ण निषेधाज्ञा जारी

सुनसरी । सुनसरीमा नयाँ भेरीयन्टको कोभिड–१९ को सङ्क्रमण अझै पनि तीव्र बढिरहेकोले जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गतेसम्म लागू हुने गरी पूर्ण निषेधाज्ञा जारी गरेको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा डिसिसिएमसीको बसेको बैठकले जेष्ठ ३१ गते राति १२ बजे सम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।
नयाँ भेरीयन्टको कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि मिति २०७८ साल जेष्ठ २२ गते राति १२ः०० बजे सम्म निषेधाज्ञा जारी गरिएकोमा पछिल्ला दिनहरूमा यस जिल्लामा सङ्क्रमण दर अझै पनि वृद्धि हुँदै गएको हुँदा मिति २०७८ जेष्ठ ३१ गते सोमबार राती १२ बजे सम्मका लागि २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयले दिएको अधिकार प्रयोग गरी देहाय अनुसार हुने गरी आदेश जारी गरिएको छ ।
यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति सङ्घ संस्था,पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ र यो आदेशको उल्लङ्घन गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
सर्वसाधारणका लागि औषधी खरिद र उपचारका लागि बाहेक घरबाट बाहिर ननिस्कने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दुरी, स्वास्थ्य मापदण्ड साबुन पानीले हात धुने, मास्क र सेनिटाईजरको प्रयोग अनिवार्य रूपले गर्ने, गराउने, कुनै पनि स्थानमा जम्मा भई कुनै पनि प्रकारका भेला, जुलुस, सम्मेलन, छलफल, गोष्ठी नगर्ने, नगराउने, हाट, मेला, जात्रा महोत्सव, पार्टी, भोज, भिडभाड हुने कार्य गर्न नपाइने उल्लेख छ ।
यसै गरी कार्यालय सञ्चालन सम्बन्धमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरूको हकमा सम्बन्धित स्थानीय तह तथा उद्योग वाणिज्य सङ्घहरूको समन्वयमा मिति २०७८ जेष्ठ २३ गते देखि हप्तामा ३ दिन (आइतबार, मङ्गलवार र बिहीबार) स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखी खुल्ला गर्ने गरी थप व्यवस्था मिलाउने । साथै अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी कार्यालयमा आवश्यक पर्ने कर्मचारीहरू बिहान ९ बजे देखि १० बजे सम्म र दिउसो ५ बजे देखि ६ बजेसम्म कार्यालयमा उपस्थित हुने प्रयोजनका लागि परिचयपत्रका आधारमा आवतजावत गर्न दिइनेछ ।
यसै गरी सभा सम्मेलनको हकमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल,सैलुन, ब्युटी पार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, आदि सञ्चालन गर्न पाइने छैन ।
सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा सार्वजनिक एवं निजी सवारी साधन, सिटी सफारी (दुई पाङ्ग्रे चार पाङ्ग्रे) समेत मिति २०७८ जेष्ठ ३१ गते राती १२ः०० बजेसम्म सुनसरी जिल्लाभर सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, तथा दुग्धजन्य पदार्थ, मासु तथा मासुजन्य बस्तु बोकेको सवारी साधन, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेनटिन, आइसोलेसन, फोहोर मैला व्यवस्थापन, कुरियर तथा डाक सेवा लगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।
पसल सञ्चालनको हकमा औषधी र स्वास्थ्य सामाग्री तथा इन्धन व्यवसाय सम्बन्धी पसल (पेट्रोल पम्प, खाना पकाउने ग्याँस) बाहेक अन्य पसल व्यवसाय खाद्यान्न, तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसल समेत पूर्ण रूपले बन्द गर्ने भनिएको छ ।
सञ्चारकर्मी, पत्रकारको हकमा सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सूचना विभाग वा सम्बन्धित सञ्चार गृहले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिने । होटेल तथा रेस्टुरेन्ट पूर्ण रूपले बन्द गर्ने भनिएको छ ।
विवाह तथा व्रतबन्ध आयोजनाका लागि ७ जना (दुलाहा–दुलही सहित) भन्दा बढी नहुने गरी सहभागी हुन पाउने र उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्न पाउने छैन ।
वैवाहिक कार्यक्रममा सहभागी भई अन्यत्र जिल्ला जानु फर्कनु पर्ने भएमा दुलाहा दुलही सहित ७ जना भन्दा बढी नहुने गरी स्वास्थ्य मापदण्ड अपनाई सवारी साधनमा ब्यानर राखी आवतजावत गर्न पाउनेछ ।
यसै गरी भारतीय नाकाहरूबाट आवतजावत गर्न निषेध गरिएको छ ।
मृत्यु संस्कार, बिरामी कुरुवाको रूपमा अनिवार्य सहभागी हुनु पर्ने व्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित व्यक्ति उक्त ब्यहोरा खुल्ने कागजात निवेदन, अस्पतालको कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि निवेदन पेस गर्नु पर्नेछ ।
यसै गरी अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बुद्धि गर्ने, जम्मा खोरी गर्ने, लुकाउने या आपूर्तिमा अवरोध गर्नेहरू उपर कानुन बमोजिम कारबाही हुनेछ ।
कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दा जिल्ला कोभिड सङ्क्रमण व्यवस्थापन समितिको मापदण्ड अनुसार गर्नु पर्ने छ ।
निषेधाज्ञा समयमा सर्वसाधारणमा खाद्यान्न तथा तरकारीहरू, दूध तथा दुग्ध पदार्थ, मासु तथा मासुजन्य पदार्थ, पक्षी तथा पक्षीजन्य पदार्थको सङ्कट हुन नदिन माग तथा आवश्यकताअनुसार घर घरमै उपलब्ध गराउने बाहेक हाट, गुद्री र पसल खोली बिक्री वितरण गर्न नपाउने तर सङ्कलन गरी ढुवानी गर्न पाउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button