तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित श्रीमान्-श्रीमतीको सँगै निधन 

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा कोरोनाबाट संक्रमित श्रीमान् र श्रीमतीको एकै दिन दुई घण्टाको अन्तरमा निधन भएको छ । नगरपालिकाको वडा न ७ का ८१ वर्षीय पुरुषको श्रीमतीको निधन भएको दुई घण्टा पश्चात् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
कोरोना सङ्क्रमणमुक्त भई गत १६ गते घर फर्किएका ती वृद्धका श्रीमतीलाई संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएपछि पुन बिरामी हुनुभएको थियो । ७५ वर्षीया श्रीमतीसँगै अस्पतालमा दोस्रो पटक भर्ना हुनुभएका उहाँको मङ्गलवार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ७५ वर्षीया श्रीमतीको मुख हेर्न भन्दै ती वृद्ध चिकित्सकको सल्लाह बमोजिम अस्पतालबाट घर फर्कनुभएको थियो ।
उहाँको पारिवारिक स्रोतका अनुसार बिहान ३ बजे श्रीमतीको मृत्यु भएको थियो भने ५ बजे बिहान श्रीमानको मृत्यु भएको थियो । उहाँहरूको दुई छोरा र दुई छोरीहरू रहेका छन् ।
संक्रमण लुकाउँदा समस्या 
शुक्लागण्डकी नगरपालिका वडा न ७ लगायत नगरका विभिन्न स्थानमा सङ्क्रमितहरूले संक्रमण लुकाउन खोज्दा समस्या भयावह बन्न थालेको छ । परीक्षणको दायरामा गए संक्रमित पहिचान हुने डरले स्थानीयहरूले परीक्षण नै गर्न नमान्ने गरेको वडाध्यक्ष रामबहादुर क्षत्री थापाले जानकारी दिनुभयो ।
“सामान्य ज्वरो र रुघाखोकी हो पर्दैन, हामीलाई गाह्रो साह्रो केही परेको छैन भन्नुहुन्छ” वडाध्यक्ष थापाले भन्नुभयो “संक्रमित भएमा मानसिक रुपमा कमजोर महसुस गर्ने र छिमेकीले कसरी लेलान् भन्ने सोच्ने गरेको पाइयो ।” थापाले वडामा संक्रमित र मृत्यु हुनेको सङ्ख्या बढ्दै जान थालेपछि हप्तामा दुई पटकसम्म टोल टोलमै पुगेर जनचेतना जगाउन लागि परेको बताउनुभयो ।
वडा कार्यालयले वडावासीहरूलाई लक्षण देखिए पिसिआर परिक्षण गराउन आग्रह गर्दै स्वास्थ्यकर्मीसहित संक्रमित पहिचान अभियान थालेको छ । वडामा हालसम्म सङ्क्रमितहरूको सङ्ख्या ३६ पुगेको छ भने संक्रमण पश्चात् ८ जनाको निधन भइसकेको छ ।
स्वास्थ्य शाखा शुक्लागण्डकी नगरपालिकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या अस्वाभाविक रुपमा बढ्न थालेपछि वडा न ७ सहित ८ र ९ मा एन्टिजेन परीक्षणका दायरा बढाउने तयारी गरिरहेको शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button