तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा संक्रमण र मृत्युदर घट्दै 

सल्यान । जारी निषेधाज्ञा र स्थानीय तहहरूले समेत परीक्षणको दायरालाई बढाएपछि जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको छ । सङ्क्रमितको  मृत्युदर समेत घटेको छ ।
एक सातामा ७ सय ९० जनामा गरिएको परीक्षणमा जम्मा २ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । १ सय ८२ जना निको भएर डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
निषेधाज्ञाको कडाइ, समुदाय स्तरसम्म परीक्षणको दायरा बढाउँदा सङ्क्रमितको सङ्ख्यामा कमी आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । शङ्कास्पद सबैको परीक्षण गरिएकाले पनि कम संक्रमित थपिएको उनको भनाई छ ।
कार्यालयका अनुसार पछिल्लो एक साताको पीसीआर र एन्टिजेनको नतिजाले पनि सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखाएको छ । कोरोना फोकल पर्सन पुनका अनुसार बिहीबार ३४ जनाको परीक्षण गर्दा १४ , १९ गते  २ सय ४ जनाको परीक्षण गर्दा ७७, १८ गते १ सय २६ को परीक्षण गर्दा ३५, १७ गते १ सय ९८ जनाको परीक्षण गर्दा ४५, १६ गते २९ जनाको परीक्षण गर्दा १०, १५ गते १ सय ६२ जनाको परीक्षण गर्दा २९ र १४ गते ३७ जनाको परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
अघिल्लो साता ५ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । जसमा २ सय ७९ जना निको भएर डिस्चार्ज भएका थिए । गत साता कोरोनाबाट ९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button