तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही जिल्लामा जेठ  ३१ गतेसम्म निषेधाज्ञा, स्वास्थ्य मापदण्ड अपनाइ खाद्यान्न पसल खोल्न पाइने

भैरहवा ।  रुपन्देहीमा जारी निषेधाज्ञा थप भएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको प्रभावलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । जिल्लामा वैशाख १६ गते यता निषेधाज्ञा लागू छ ।

बुधवार प्रशासनमा बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

जिल्ला स्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकको निषेधाज्ञा थपको सिफारिस गरेको थियो । सोहीअनुसार निर्णय भएको हो ।

खाद्यान्न बाहेकका सम्पूर्ण निर्णयलाई यथावत् राख्दै निषेधाज्ञा थप गरिएको हो । अब खाद्यान्न पसलहरू स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म खोल्न पाइने व्यवस्था मिलाइएको तामाङले बताउनुभयो।

निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, बिद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेनटाइन, फोहोर मैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको हो ।

प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुन, मानिसहरू भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्ट स्टोर, सपिङ मल, ब्यूटिपार्लर र स्विमिङ पुल, स्पा, संग्रहालाय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाएको छ ।

परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको तामाङले बताउनुभयो ।

शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरू सञ्चालन गर्न तथा होटेल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button