तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सामाग्री सहयोग

 ओखलढुङ्गा । संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले गृह जिल्ला ओखलढुङ्गालाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।

कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन जिल्लाभर मास्क बाँड्ने गरी ९५ हजार थान मास्कसहितका स्वास्थ्य सामाग्री पूर्व सांसद खतिवडाले सहयोग गर्नुभएको हो ।

जिल्लाका सबै ८ वटै स्थानीय तहका ७५ वटा वडामा प्रति वडा एक हजारका दरले मास्क, ५ लिटरका दरले सेनिटाईजर खतिवडाले उपलब्ध गराउनुभएको छ ।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बीच खतिवडाले सामान हस्तान्तरण गर्नुभएको छ ।

कोरोना संक्रमण न्यूनीकरणका लागि अग्र भागमा रहेर काम गर्नेहरूका लागि जिल्लाका सबै वडामा समानुपातिक हिसाबले प्रतिवडा हजार थान मास्क र ५ लिटरका दरले सेनिटाईजर सहित उपलब्ध गराउने गरी प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको खतिवडाले बताउनुभयो ।

‘जिल्लाका जनता बचाउने अभियानमा हामी छौँ । कोही पनि ओखलढुंगे नागरिक कोरोनाबाट मर्न नपरोस् भन्ने उद्देश्य र यति बेला जिल्लाभरबाट मास्क, स्यानिटाइजरको माग बढेकाले मैले जिल्लाभर पुग्नेगरि प्रशासनलाई सामान हस्तान्तरण गरेको छु ।’ खतिवडाले भन्नुभयो, ‘जिल्लाका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अन्य अग्र भागमा खटिनेका लागि समेत आवश्यक स्वास्थ्य सामाग्री ल्याएको छु ।’ जिल्ला स्थित सुरक्षा निकाय, कोरोना संक्रमण नियन्त्रणमा खट्ने सरोकारवाला र अस्पताल तथा स्वास्थ्यकर्मीका लागि समेत मास्क, स्यानिटाइजर, पिपिई सेट, संक्रममितको शव व्यवस्थापन गर्दा सेनाले लगाउने कपडा, १ हजार ५सय पिस साबुन सहितको करिब ५ लाख बराबरको सामान खतिवडाले प्रशासनलाई उपलब्ध गराउनु भएको छ ।

नेता खतिवडामार्फत उपलब्ध सामाग्री तोकिएका स्थानमा पठाइने सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले बताउनुभयो  ,

संविधान सभाका सदस्य समेत रहेका कांग्रेस नेता खतिवडाले गत वर्ष देखिनै कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लामा स्वास्थ्य सामाग्रीहरू सहयोग उपलब्ध गराउँदै आउनु भएको छ ।

खतिवडाले गत वर्ष मानेभञ्ज्याङ क्षेत्रमा गुर्जोका बिरुवा समेत वितरण गर्नुभएको थियो ।  यस वर्ष मानेभञ्ज्याङ र चम्पादेवी क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भिटामिन सहितका औषधी वितरण गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button