तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको छालासहित एक जना पक्राउ

अछाम । अछाम प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ८ डाँकुका ५० वर्षीय विष्णुबहादुर विष्टलाई एक थान चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको अछामका प्रहरी प्रमुख डिएसपी तुल्सिराम अर्यालले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त चितुवाको छालासहित फेला पारी विष्टलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीलाई सूचना प्राप्त हुने बित्तिकै गए राति खटिएको टोलीले निज बिष्टको घरको गोठमुनि परालमा लुकाएको अवस्थामा चितुवाको छाला भेटिएको उहाँको भनाई छ । निज बिस्टलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको पनि डिएसपी अर्यालले जानकारी दिनुभयो ।

यस्तै पक्राउ परेका विष्टलाई कारबाहीको लागि आवश्यक तयारी गरिरहेको डिभिजन वन कार्यालय अछामका सूचना अधिकारी विमल चन्दले जानकारी दिनुभयो ।

कारबाहीका लागि वन कार्यालयले आवश्यक कागजपत्रहरू तयार पारिरहेको जानकारी दिनुहुँदै चन्दले वन ऐन अनुसार कारबाहीको प्रक्रिया सुरु हुने र कानुनले वञ्चित गरेको काम गर्नेलाई कानुनसम्मत कारबाहीको प्रक्रिया वन कार्यालयले अगाडी बढाउने पनि उहाँको भनाई छ ।

कस्तो किसिमको कारबाही हुने भन्ने कुरा घटनाको प्रकृति हेरी आवश्यक प्रमाणको आधारमा तय हुने सूचना अधिकारी एवम् रेन्जर चन्दले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button