तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा युवक पक्राउ

वीरगंज । स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर गर्ने अभियोगमा पर्सा प्रहरीले वीरगंजबाट एक युवकलाई पक्राउ गरेको छ ।
वीरगंज नगर क्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जर मार्फत पटक–पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका कानून विपरीत क्रियाकलाप गरेको सम्बन्धमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा निवासी आफूलाई सञ्चारकर्मी तथा सामाजिक अभियन्ता बताउने २४ वर्षीय सौरभ साहलाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्तलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा आज अदालतबाट  ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button