तपाईँ सुन्दै हुनुहुन्छः

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध 

सल्यान  । झन्डै २३ वर्षपछि सञ्चालनमा आएको झिम्पे पाथिभारे रिपिटर टावर एक महिना नपुग्दै अवरुद्ध भएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ झिम्पेमा रहेको रिपिटर टावरमा  चट्याङ परेपछि टेलिफोन सेवा अवरुद्ध भएको हो ।
गत वैशाख १९ गते बिहान परेको चट्याङले ट्रान्सफर्मर लगायतमा अन्य सामान जलेपछि टेलिफोन सेवा अवरुद्ध भएको छत्रेश्वरी गाउँपालिका–४ का वडाध्यक्ष नेव बहादुर खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘२३ वर्षसम्म बन्द रहेको टावर सञ्चालनमा आएपछि सञ्चार सेवामा जोडिएको एक महिना नपुग्दै सञ्चार सुविधाबाट वञ्चित हुनु परेको छ ।’
टेलिफोन सेवा अवरुद्ध हुँदा सल्यानका छत्रेश्वरी, त्रिवेणी, सिद्ध कुमाख, कपुरकोट गाउँपालिका र बागचौर नगरपालिका, रोल्पाको गङ्गादेव गाउँपालिका, त्रिवेणी गाउँपालिका लगायतका रुकुम पश्चिमका सेवाग्राही समस्यामा परेका छन् ।
अवरुद्ध रिपिटर टावर मर्मतको काम भइरहेको र अबको केही दिनमा नै टावर सञ्चालनमा आउने दूरसञ्चार कार्यालय सल्यानका प्रमुख युद्ध बहादुर केसीले बताउनुभयो ।
‘सुरुमा ट्रान्सफर्मर क्षति भएको छैन भनेर अन्य सामान मात्र मर्मत गरियो तर ट्रान्सफर्मर पनि जलेको रहेछ नेपालगन्जबाट हामीले माग गरेका छौँ’ उहाँले भन्नुभयो । नेपालगन्जबाट ट्रान्सफर्मर आए लगत्तै टावर सञ्चालनमा आउने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button