तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा २ सङ्क्रमितको मृत्यु, १८ जनामा संक्रमण पुष्टि  

वीरगंज । वीरगंजको नारायणी अस्पतालमा उपचाररत थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
वीरगंजको नारायणी अस्पतालमा उपचाररत बाराको कोल्भी नगरपालिका वडा नम्बर ६ निवासी ५० वर्षीय पुरुषको आज दिउँसो उपचारको क्रममा मृत्यु भएको छ ।
जेठ १५ गते अस्पतालमा भर्ना भएका पुरुषको गम्भीर प्रकृतिको निमोनियाको कारण भेन्टिलेटरमा उपचार हुँदै आएकोमा आज दिउँसो १ बजे निधन भएको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिनुभयो ।
त्यसै गरी नारायणी अस्पतालमा उपचारकै क्रममा गए राति वीरगंज महानगरपालिका वडा नम्बर १४ ओम आश्रमका ४० वर्षीय पुरुषको मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका सङ्क्रमितको श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको केही बेरमै गए राति निधन भएको डा. सिंहले बताउनु भयो ।
यसै गरी वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ९२ जनाको पिसीआर परीक्षणको क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा १६ जना पुरुष र २ जना महिला रहेका छन् । संक्रमित मध्ये १० जना पर्सा जिल्लाको रहेका छन् भने बाराका ६ जना, सर्लाहीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १७ बर्ष देखी ९० बर्ष सम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १८ दशमलव ६ देखी ३५ दशमलव ९ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button