तपाईँ सुन्दै हुनुहुन्छः

‘बजेट कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना तयार गरिन्छ’

file photo

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्नका लागि स्पष्ट कार्ययोजना तय गरिने बताउनुभएको छ ।

सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमार्फत ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि कार्यान्वयनमा शङ्का गरिएको भन्दै अर्थमन्त्री पौडेलले मन्त्रालयगत कार्ययोजना बनाएर सरकार अघि बढ्ने उल्लेख गर्नुभयो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको बजेटपछिको छलफलमा उहाँले सरकारले जनताप्रतिको जिम्मेवारी पूरा गर्न र संविधानको कार्यान्वयन गर्नको लागि बजेट ल्याएको बताउँदै बजेट भित्र बसेर टिप्पणी गर्न आग्रह छ ।
उहाँले सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार भएकै कारणले आवश्यक बजेट व्यवस्था गरेको स्पष्ट पार्नुभयो ।
निर्वाचन सरकारको रोजाइ नभएको भन्दै परिस्थितिको बाध्यता भएको तर बजेट कार्यान्वयनमा निर्वाचनले असर नगर्ने उहाँको भनाइ छ ।
अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले पनि बजेट कार्यान्वयन हुन्छ भन्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
बजेट कार्यान्वयन समयमै गर्नको लागि बजेट मार्फत केही सुधारको प्रयास गरिएको जानकारी दिनुभयो ।
बजेट कार्यान्वयनको लागि जग्गा प्राप्तिलाई सहज गराइने, बजेट सूचना प्रणालीलाई संशोधन गरी रकमान्तर र कार्यक्रम संशोधन सम्बन्धित मन्त्रालयले गर्न सक्ने व्यवस्था गरिने र आयोजनालाई सूक्ष्म ढङ्गले विश्लेषण गर्न आयोजना प्रमुख र सचिवलाई जिम्मेवार बनाइने उहाँको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले यसपालिको बजेटमा केही सुधारको प्रयास भएको बताउनुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले बजेट कार्यान्वयन र बजेटले राखेको लक्ष्य पूरा गर्न चुनौतीपूर्ण भए पनि बजेट नीति सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्यान्वयनमा चुनौतीका बाबजुद बजेट निजी क्षेत्रमैत्री रहेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button