तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा कोरोना सङ्क्रमणका कारण तीन जनाको मृत्यु, १ सय ११ मा संक्रमण

जनकपुरधाम । कोरोना सङ्क्रमणका कारण धनुषामा ३ जनाको मृत्यु भएको छ । मृतक सबै जना पुरुष रहेका छन् ।

धनुषाको मिथिला नगरपालिका वडा नंं ६ ढल्केवार घर भएका वर्ष ३८ का पुरुषको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिका सम्पर्क व्यक्ति एवं जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरि धनुषाको सवैला नगरपालिका वडा नंं ७ घर भएका वर्ष ६२ का पुरुषको उपचारको क्रममा राम जानकी अस्पताल जनकपुरधाममा मृत्यु भएको छ । मृतक पुरुषमा निमोनिया र श्वास प्रश्वासमा समस्या भएको उपचारमा संलग्न चिकित्सकले बताउनुभयो ।

यसैगरि जनकपुरधाम उपमहानगरपालिका वडा नंं ७ घर भएका वर्ष ६४ का एक जना पुरुषको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उपचारका क्रममा मृत्यु भएको थियो ।

पछिल्लो पटक धनुषा जिल्लामा कोरोना सङ्क्रमणको दर २५ प्रतिशत भन्दा कममा झरेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ४ सय ६२ वटा नमूनाको परीक्षण गर्दा १ सय ११ जनामा सङ्क्रमणको पुष्टि भएको छ । यसले धनुषामा संक्रमण दर करिब २३ प्रतिशतमा झरेको कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button